स्टारलिंकबारे एलन मस्कको ब्रिफिङ, मस्कमार्फत् ट्रम्पलाई ओलीको बधाई

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी खर्बपति एलन मस्कमार्फत् अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन् ।
जनवरीदेखि कार्यभारको जिम्मेवारी लिन लागेका राष्ट्रपति ट्रम्पलाई ओलीले मस्कसँगको भर्चुअल संवादमार्फत बधाई दिएका उनको सचिवालयले जानकारी दिएको छ ।
‘ट्रम्पलाई जिताउन तपाईंको निर्णायक भूमिका रह्यो भन्ने मैले सुनेको छु,‘म ट्रम्पलाई तपाईंमार्फत् बधाई दिन चाहन्छु । नेपाल अमेरिकाबीचको सम्बन्ध अझै नयाँ उचाइमा पुग्ने मेरो विश्वास छ ।’ ओलीले मस्कलाई भनेको उद्धृत गर्दै उनका प्रेस संयोजक रामशरण बजगाईंले भने ।
मस्कले ओलीलाई धन्यवाद दिएका थिए । मूलतः उनीहरुबीच अमेरिकी चुनावकैबारेमा कुराकानी भएको थियो ।
मस्कले स्टारलिंकबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गराएका थिए । उनले नेपालमा यसको प्रयोग भएमा प्राप्त हुन सक्ने सहुलियत र सुविधाबारे पनि जानकारी दिएका थिए । बजगाईंका अनुसार, मस्कलाई ओलीले कुनै औपचारिक प्रतिक्रिया नदिए पनि ध्यान दिएर सुनेका थिए ।
प्रधानमन्त्री र मस्कबीच २५ मिनेटजति वार्ता भएको थियो ।