सुदूरपश्चिम विश्वविद्यालय कलेज एसोसिएसन गठन, अध्यक्षमा पोख्रेल र महासचिवमा जोशी

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय (FWU) द्वारा सम्बन्धन प्राप्त कलेजहरूको राष्ट्रिय भेला शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित अल्कोभ रेस्टुरेन्टमा सम्पन्न भएर सुदूरपश्चिम विश्वविद्यालय कलेज एसोसिएसन नेपाल (FWUCAN) को औपचारिक गठन गरिएको छ ।
उक्त राष्ट्रिय भेलाले लक्ष्मण पोख्रेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । नवगठिन एसोसिएसनको महासचिवमा भुवन चक्र जोशी र सचिवमा शंकर प्रशाद शर्मा चयन भएका छन् । यस संस्थाले विश्वविद्यालयसँग सम्बन्धित ३२ वटा निजी क्याम्पसहरूको प्रतिनिधित्व गर्नेछ।
FWUCANले विश्वविद्यालयका सम्बन्धित क्याम्पसहरू तथा विद्यार्थीहरूको शैक्षिक गुणस्तर, व्यावसायिक अवसर, अनुसन्धान र हकहितको सुरक्षाका लागि विश्वविद्यालय, सरकारी निकाय, मन्त्रालय र अन्य संस्थाहरूसँग समन्वय गर्ने योजना बनाएको भेला पश्चात् जारी सुदूरपश्चिम विश्वविद्यालय कलेज एसोसिएसन नेपालको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कंचनपुरको महेन्द्रनगरमा अवस्थित सुदूरपश्चिम विश्वविद्यालय (FWU) नेपाल सरकारद्वारा स्थापित एक राष्ट्रिय विश्वविद्यालय हो। यसले व्यवस्थापन, शिक्षा, विज्ञान, कृषि, सामाजिक शास्त्र, मानविकी, सूचना प्रविधि लगायत विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।
विश्वविद्यालयसँग १५ आङ्गिक क्याम्पस र ३२ निजी सम्बन्धन प्राप्त क्याम्पस जोडिएका छन्। विद्यार्थी संख्याको आधारमा यो नेपालको दोस्रो ठूलो विश्वविद्यालय हो। FWUCANको गठनपछि विश्वविद्यालय र सम्बन्धित क्याम्पसहरूबीच समन्वय बढ्ने, शिक्षा तथा अनुसन्धानको गुणस्तर सुधार हुने अपेक्षा गरिएको बताइएको छ ।