कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले ) बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पारेका छन्। सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासंघद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमाले बीचको समीकरण विघटन हुँदैन, झन सुदृढ हुन्छ भने ।
गृहमन्त्री लेखकले भने, ‘ देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेको छ । वर्तमान सरकारले विग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ । शान्तिप्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ ।’ उनले आवश्यक कानुन निर्माण र संघीयतातालाई बलियो बनाउन सरकारले उच्च प्राथमिता दिएको जानकारी दिए।