कांग्रेस बागमती संसदीय दलकाे नेतामा बानियाँ, साढे २ वर्षमा उल्ट्याए नतिजा
हेटाैंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकाे नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।
प्रदेशसभा सचिवालय परिसरमा आज बुधवार भएका दलकाे निर्वाचनमा बानियाँले मख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामा तामाङलाई पराजित गरेका हुन । बानियाँ र लामा दुवै पार्टी सभापति शरबहादुर देउवा पक्षका हुन ।
कांग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत पाउँदा लामाले १४ मात्रै मत ल्याउन सके । १ मत बदर भएकाे छ । १३ साउन मंगलबार आफूविरूद्ध संसदीय दलमा परेकाे अविश्वासकाे प्रस्तावकाे विपक्षमा १५ मत मात्रै आएपछि उनले दल नेताकाे हैसियत गुमाएका थिए । अविश्वासकाे प्रस्तावकाे पक्षमा २२ मत परेकाे थियाे ।
लामाले दलकाे नेताकाे हैसियत गुमाएपछि आज बुधवार दलकाे नेता चयनका लागि निर्वाचन भएकाे हाे । बानियाँकाे नेतृत्वमा कांग्रेसका २१ जना सांसदले ९ साउनमा दल कार्यालयमा अविश्वासकाे प्रस्ताव दर्ता गरेका थिए । लामा नेतृत्व सरकारका पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँलाई साथ दिएका थिए ।
बानियाँ र लामा संसदीय दलकाे नेतामा दाेस्राे पटक भिडेका हुन् । प्रदेशसभाकाे दाेस्राे कार्यकालमा पहिलाे पटक १३ पुस २०७९ मा संसदीय दलकाे निर्वाचन हारेका बानियाँले साढे २ वर्षमै नतिजा उल्ट्याए ।
लामा र बानियाँ दाेस्राे पटक दलकाे नेताका लागि निर्वाचन लडेका हुन् । ४ मंसिर २०७९ मा भएकाे प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेश सभाकाे ठूलाे दल नेपाली कांग्रेस संसदीय दलकाे नेताका लागि १३ पुस २०७९ मा भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित भएका थिए । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।
