शुक्रबार २१ कात्तिक, २०८२

ट्रम्पको धम्कीपछि चीनको चेतावनी – 'हामी उचित जवाफ दिनेछौं'

ट्रम्पको धम्कीपछि चीनको चेतावनी – 'हामी उचित जवाफ दिनेछौं'

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १०० प्रतिशत अतिरिक्त शुल्क लगाउने चेतावनी दिएपछि चीनले अमेरिकाले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको छ।

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले शुक्रबार अमेरिकालाई उचित जवाफ दिने प्रतिक्रिया दिएको छ । उनले भने, ‘यदि ट्रम्प प्रशासनले आफ्नो धम्की कार्यान्वयनमा ल्यायो भने चीनले त्यसको उचित जवाफी कदम चाल्नेछ।’

उनले थपे, ‘चीन सम्भावित व्यापार युद्धबाट डराउँदैन र आफ्नो वैध अधिकारको रक्षा गर्न आवश्यक सबै कदम चाल्नेछ। यसअघि ट्रम्पले चीनले दुर्लभ खनिजको निर्यातमा नियन्त्रण कडा गरेको भन्दै चीनको आलोचना गरेका थिए ।

ट्रम्पले चीनमाथि ‘अत्यन्त शत्रुतापूर्ण व्यवहार’ देखाएको र ‘विश्वलाई बन्धक बनाउने प्रयास’ गरेको आरोप पनि लगाएका थिए ।

ट्रम्पले चीनले आफ्नो नीति नबदले यस महिनाको अन्त्यमा राष्ट्रपति सी जिनपिङसँग प्रस्तावित बैठकमा सहभागी नहुने चेतावनी दिएका छन् ।

विश्लेषकहरूका अनुसार, यस प्रकारको बयानबाजीले अमेरिका–चीन व्यापार सम्बन्धमा नयाँ अनिश्चितता ल्याउन सक्छ र यसले विश्व बजारहरूमा असर पार्न सक्छ।