चैतन्य पाठशालाले माग्यो गणित शिक्षक, खानबस्नको व्यवस्थासहित तलब एक लाख रुपैयाँ
काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको चैतन्य पाठशालाले खानबस्नको व्यवस्थासहित एक लाख रुपैयाँ तलब दिने भन्दै दरखास्त माग गरेको छ ।
निजी विद्यालयमा शिक्षकले आफ्नो दक्षताअनुसार पारिश्रमिक नपाइरहेको गुनासो आइरहेको बेला चैतन्य पाठशालाले एक लाख रुपैयाँ तलब दिने भन्दै शिक्षक माग गरेको हो ।
चैतन्यले एक लाख रुपैयाँ तलब त्यसमा पनि बस्न खाना र खाजाको सुविधा दिने विज्ञापन सार्वजनिक गर्दा धेरै नागरिक अचम्मै मानिरहेका छन् । पाठशालाले आफ्नो फेसबुक पेजमा राखेको सूचनामा पनि धेरै जनाले सत्य हुन नसक्ने र बरु लेखाइमा गल्ती भएको हुनसक्ने लख काटेका छन् ।
तर पाठशालाले भने यो सूचना सही भएको र दक्ष गणित विषय पढाउन सक्यो शिक्षक आवश्यकता परेको जनाएको छ । शिक्षकलाई पाठशालाले गरेको सामाजिक सञ्जाल फेसबुकमा राख्दै दरखास्त माग गरेको हो ।
पाठशालाका प्रिन्सिपल प्रेमनिधि ओझाले गणित विषयमा दक्ष र योग्यता भएको जुनसुकै नेपालीले दरखास्त दिन सक्ने बताए ।
उनी भन्छन्, ‘एक लाख तलब भन्दै अचम्म मान्नु पनि पर्दैन र यो भ्रम पनि होइन । गणित र विज्ञान निकै महत्त्वपूर्ण विषय भएकाले एकजना शिक्षकलाई बिहानदेखि साँझसम्म विद्यालय नै राख्ने गरी आवश्यक परेकाले दरखास्त माग गरेको हौं ।’
ओझाका अनुसार छनोट शिक्षकले कक्षा पाँचदेखि दशसम्म पढाएर घर फर्किने नभई बिहानदेखि साँझसम्म विद्यालयमै रहनुपर्ने छ ।
उनले २९ गतेसम्म डेडलाइन भएपनि अहिलेसम्म जानकारी लिनमात्रै फोन आउने गरेको र दरखास्तकै लागि भनेर कुनै आवेदन नपरेको बताए ।
‘अहिले शैक्षिक बजारमा शिक्षक उत्पादनमा निकै खडेरी छ । शिक्षक बन्न कसैको रुचि हुँदैन,’ उनी भन्छन्, ‘विद्यार्थीको मोह कि विदेश र की प्राविधिक विषयमा बढ्दो छ । शिक्षक पाउन निकै गाह्रो छ । विज्ञापन दोहोरो तेहोरो गर्दा पनि शिक्षक आउन पाउन नसकेको अवस्था छ ।’
विगतमा एउटा विज्ञापनमा ५०–६० आवेदन पर्थ्यो, त्यसबाट उत्कृष्ट व्यक्तिलाई छनोट गर्न सकिन्थ्यो तर अहिले त्यो माहोल छैन, मुस्किलले आवेदन परे पनि, आठ देखि १० जनासम्मको मात्र आउँछ ।
चैतन्य पाठशालामा प्रीस्कुलदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । पाठशालाले कमजोर समूहका विद्यार्थीलाई विद्यालयभित्रै डाइग्नोसिस कक्षा लिने गर्छ । विद्यालयमा हाल १ हजार विद्यार्थी छन् भने ७५ जना कर्मचारी छन् ।
