जेनजी प्रदर्शन : ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो...
काठमाडौँ । सुख दुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका–७ काभ्रेपलाञ्चोकका दिलनारायण तामाङ (४२ वर्ष) र बुद्धिमाया दम्पत्तिले दुई छोराहरुलाई सिठोपिठो ख्वाएरै भएपनि पढाइरहेका थिए ।
दश वर्षअघि गाउँबाट काम खोज्दै तामाङ दम्पत्ति लालाबाला च्यापेर ललितपुरको च्यासल आइपुगेका थिए । जसको मुख्य उद्देश्य आफ्ना दुई सन्तानलाई शिक्षादीक्षा दिलाएका थिए ।
“जिन्दगी सधैँ एकनास कहाँ हुँदो रहेछ र”, बुद्धिमायाले भदौ २३ गते सम्झँदै भनिन्, “त्यही दिन हाम्रो जीवनमा अन्धकार बनेर आयो । त्यसयता केही सोच्नै सकिरहेकी छैन ।”
दिलनारायण डकर्मीको रुपमा मजदुरी गर्थे । छोराहरु निशान र सोहन कोठा नजिकैको श्रीशान्ति विद्याश्रममा पढ्थे । गएको वर्षदेखिमात्रै बुद्धिमायाले थापाथलीस्थित एक कम्पनीको कार्यालयमा सहयोगीको काम पाएकी थिइन् । सानै भएपनि श्रीमतीलाई रोजगारी मिलेपछि दिलनारायणको सपना पनि विस्तारै फूल्दो थियो ।
गत भदौ २३ गतेका दिन दिलनारायणको कतै मजदुरीमा जानुपर्ने थिएन । काम नभएकाले घरमै थिए । छोरा सोहनको जुत्ता फाटेकाले बिहानै नयाँ किनेर ल्याइदिए। त्यसपछि बुद्धिमायालाई खाना पकाएर टिफिन बट्टामा हालिदिइन् । श्रीमती टिफिन लिएर अफिस हिँडेसँगै उहाँले छोराहरुलाई खाना खुवाएर विद्यालय पुर्याइन् ।
बानेश्वरमा जेनजीले भ्रष्टाचारको विरोध, सुशासन, राजनीतिमा पुस्तान्तरण र निष्क्रिय तुल्याइएको सामाजिक सञ्जाल सञ्चालनको माग राखी विरोध प्रदर्शनी गरिरहेको थियो । आन्दोलनबारे थाहा पाएपछि बुद्धिमायाले फोन गरेर “छोराहरुलाई त्यहाँ जान नदिनु है, आफू पनि नजानु”, भन्नुभयो ।
छोराहरु स्कुलमै रहेकाले जाने कुरै भएन । बरु उल्टै प्रदर्शनीमा सामेल हुन दिलनारायण नयाँ बानेश्वर पुगे । ठिक त्यहीबेला प्रहरी र आन्दोलनकारीबिच झडप भइरहेको थियो । गोली चल्यो । सोही क्रममा दिलनारायणलाई पनि प्रहरीले चलाएको गोली घाँटीमा लाग्यो । जुन गोली उनको कुम हुँदै बाहिरियो । दिलनारायण त्यहीँ ढले ।
एक्कासि मध्यान्ह ३ बजे तिर श्रीमान्कै मोबाइलबाट तुरुन्त अस्पताल आउनु भनेर बुद्धिमायालाई फोन आयो । अनि उनी आत्तिँदै अस्पताल पुगिन् । त्यहाँ विनोद महर्जन र योगेन्द्र न्यौपानेसँगै उनको पनि शव रहेछ । उनले श्रीमान्काे शव हेर्न सकिनन् । “त्यसपछि म आफैँ बेहोसझैँ भएछु”, उनले भनिन्, “मैले जहाँ नजानु भनेको थिएँ, उहाँ त्यहीँ पुग्नुभएछ ।”
मजदुरी गरेपनि दिलनारायण राजनीतिक रुपमा सचेत थिए । ज्ञानबहादुर र चिनीमायाका जेठा छोरा दिलनारायण सानैदेखि आँटिलो थिए । तत्कालीन् नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्धमा जनसेनाका रुपमा जनयुद्धमा होमिएका उनी विस्तृत शान्ति सम्झौतापश्चात् वैदेशिक रोजगारीमा ओमान गएका थिए ।
बुद्धिमाया पनि भैरहवा–सुनौली हुँदै दिल्लीबाट घरेलु कामदारका रुपमा ओमान पुगेकी थिइन् । त्यहीँ भेटघाटका क्रममा बुद्धिमायासँग दिलनारायणको चिनजान भयो । त्यही चिनजान प्रेममा परिणत भयो ।
होची कदकी बुद्धिमाया अग्लो, बलियो र साहसिक युवा दिलनारायणप्रति आकर्षित भइन् । अनि झागिँदै गएको प्रेमसम्बन्धलाई उनीहरुले बिहेमा परिणत गर्ने निधो गरे । दुवै जना नेपाल फर्किए । काभ्रेका दिलनारायण र सिन्धुपाल्चोककी बुद्धिमायाबिच विवाह भयो । दुई छोरा जन्मिए ।
गाउँको अन्नपातले वर्षदिन खान लाउन र छोराछोरी पढाउन कठिन भएपछि उनीहरु कामठाडौँ सहर पसेका थिए । तर आफूसँगै बालबच्चाको भविष्य खोज्दै सहर छिरेको एक दशकपछि दिलनारायणले देशका लागि ज्यान गुमाए ।
आन्दोलन भनेपछि होमिइहाल्ने स्वभावका तामाङ श्रीमतीले आन्दोलनमा नजानुभन्दा ‘किन डराउने र देशका लागि ज्यान दिनुपर्छ’ भन्ने जवाफ दिएका थिए । देशका राजनीतिक गतिविधि समेटिएका समाचार हेर्ने र सुन्ने सहिद तामाङको स्वभावले खरो र देशभक्ति उँचो थियो ।
बुद्धिमायाले भक्कानिँदै भनिन्, “हरेक पलपल उहाँको याद आउँछ । घरायसी कामकाजसँगै खाना पकाउने मात्र होइन, लुगा पनि उहाँले नै धोइदिनुहुन्थ्यो । त्यो दिन पनि लुगा धुनुभएको रहेछ ।”
अब भ्रष्टाचारीलाई कारबाही गर्ने र सुशासन कायम गराउने सन्दर्भमा पुनः यस्तो आन्दोलन गर्न नपरोस् भन्दै उनले भनिन्, “देशको भाग्य र भविष्य परिवर्तन होस्, राम्रो होस्, हाम्रा जस्तो दुःख अरूले भोग्न नपरोस् ।” ओमानमा जोडिएको दिलनारायण र बुद्धिमायाको प्रेम बानेश्वरमा चलेको गोलीले सधैँका लागि टुटायो ।
सहिद भएकै दिन नयाँ जुत्ता किनेर ल्याउनुभएका दिलनारायणलाई उनका छोरा सोहनले बिर्सने कुरै भएन । “राम्रोसँग पढ, डाक्टर हुनुपर्छ”, भनेर बुबाले भनेकाे वाक्य अझै सोहनको कानमा गुन्जिरहेको छ ।
दिलनारायणलाई सम्झँदै दाजु विद्यासागरले भने, “च्यासलमा पछिल्लो समय डकर्मीको काम गर्थ्याे , साहसिलो र निडर स्वभाव भएकाले सङ्कटकालमा माओवादी लडाकु भएर युद्ध लडेको थियो ।”
जेनजी आन्दोलनको बलमा गठित सुशीला कार्की सरकारले दिलनारायणसहित आन्दोलनमा सहादत गरेका ४५ जनालाई सुशासन योद्धा २०८२ घोषित गरेको छ । सहिद घोषणा गरेपछि परिवारलाई दिइने १५ लाख र काजक्रिया बापतको रकम उनले प्राप्त गरेकी छन् ।
उक्त रकम मात्र सहिद परिवारका लागि पर्याप्त होइन । सहिदका सपना पूरा गर्दै दिलनारायणजस्तै सहिद परिवारको भविष्यबारे पनि सरकारले सोच्नुपर्ने छ ।
