देशभरको आयात निर्यात ठप्प पारेर यसकारण आन्दोलित भए भन्सार एजेन्ट
काठमाडौँ । मंगलबार मुलुकभरको आयात–निर्यात ठप्प भएको छ । भन्सार ऐन तथा नियमावलीमा भएका केही प्रावधान अव्यवहारिक रहेको भन्दै भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका भन्सार कार्यालयमा जाँचपासको काम रोकिएको हो ।
सोमबार वीरगञ्ज भन्सार कार्यालयबाट सुरु भएको ‘पेनडाउन’ अभियान मंगलबार मेचीदेखि महाकालीसम्मका सम्पूर्ण भन्सार कार्यालयमा विस्तार गरिएको महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिए ।
विवादको मुख्य जड : ऐनको दफा ७१ (झ)
भन्सार एजेन्टहरुले भन्सारको घोषणा ठप्प पार्नुको मुख्य कारण भन्सार ऐनको दफा ७१ (झ)मा रहेको जरिबानासम्बन्धी व्यवस्था हो । उक्त दफामा कुनै भन्सार एजेन्टले वास्तविकभन्दा फरक घोषणा गरेमा घोषणाकर्तासँग १० प्रतिशत जरिबाना असुल गर्ने व्यवस्था छ ।
उपदफा (झ) मा भनिएको छ, ‘घोषणाकर्ताले दफा २० को उपदफा (३) बमोजिम विद्युतीय माध्यमबाट कम्प्युटर प्रणालीमा वस्तुको विवरण घोषणा गर्दा संलग्न गर्नुपर्ने कागजात फरक रूपमा संलग्न गरेमा त्यस्तो घोषणाकर्तालाई सो घोषणा बमोजिम लाग्ने भन्सार महसुलको दश प्रतिशत जरिवाना र लाग्ने महसुल असुल गरी त्यस्तो वस्तु जाँचपास गर्ने ।’
अनलाइन प्रणालीमा कागजात अपलोड गर्दा वा तथ्यांक प्रविष्ट गर्दा मानवीय त्रुटिका कारण विवरण फरक पर्नसक्ने सम्भावना रहेको भन्दै काम गर्दै जाँदा अन्जानमा हुने सामान्य गल्तीमा यति ठुलो सजायको व्यवस्था हुनु अन्यायपूर्ण भएको महासंघको भनाइ छ ।
‘कुनै घोषणा जसले राजस्वमा कुनै तात्विक असर पार्दैन, त्यस्तो अवस्थामा पनि महसुल र थप जरिबाना लाग्ने प्रावधान राखिएको छ,’ घिमिरेले भने, ‘यो व्यवस्थाले भन्सार एजेन्टहरूमा त्रासको वातावरण सिर्जना भएको छ ।’
यस्ता छन् भन्सार एजेन्टका अन्य माग
ऐनमा उल्लेखित जरिबानासम्बन्धी व्यवस्थामा सुधार गर्नुपर्ने मुख्य माग भए पनि महासंघको मागको यतिमात्रै छैन । पहिचानदेखि प्रविधिसम्मका विषयमा विभिन्न सुधार गर्न उनीहरूले दबाब दिँदै आएका छन् ।
खासगरी वर्षौंदेखि ‘भन्सार एजेन्ट’को नामले चिनिँदै आएका व्यवसायीलाई नयाँ ऐनले ‘भन्सार जाँचपास प्रतिनिधि’ नामकरण गरेको छ, जसमा उनीहरूको आपत्ति छ । अन्तर्राष्ट्रिय अभ्यास अनुसार आफूहरूलाई भन्सार एजेन्ट नै भनिनुपर्ने उनीहरूको भनाइ छ ।
त्यस्तै भन्सार जाँचपासमा प्रयोग हुने ‘आसिकुडा वर्ल्ड’को सर्भर र भुक्तानी प्रणालीमा निरन्तर समस्या आउँदा मालवस्तु रोकिने र व्यवसायीले अनावश्यक गोदाम शुल्क तिर्नुपर्ने बाध्यता रहेको भन्दै यो प्रणालीमा समेत सुधार गर्नुपर्ने महासंघको माग छ ।
भन्सार पास भएर हिँडेको गाडी कुनै कारणले बाटोमा बिग्रिएर अर्को गाडीमा सामान सार्नुपर्दा शतप्रतिशत जरिबाना लगाउने व्यवस्था हटाइनुपर्ने उनीहरूको माग छ।
सीमा नाकामा अनधिकृत रूपमा काम गर्ने र भारतीय नागरिकहरूको हस्तक्षेप बढेको भन्दै त्यसलाई रोक्न महासंघले माग गरेको छ। इजाजतपत्र प्राप्त नेपाली एजेन्टलाई कडाइ गर्ने तर भारतीय नागरिकमाथि नियन्त्रण गर्न नसकेको आरोप महासंघले भन्सार प्रशासनमाथि लगाएको छ ।
महासंघले आइतबार नै ती व्यवस्थाहरूमा सुधार नभए मालवस्तुको भन्सार घोषणा रोक्ने चेतावनी दिएको थियो । यस अनुसार सोमबार वीरगञ्ज भन्सार कार्यालयमा घोषणा रोकिएकोमा मंगलबारदेखि देशभरका कार्यालयमा ‘पेन डाउन’ गरिएको महासंघले जनाएको छ । अब महासंघका माग सम्बोधन गर्ने लिखित प्रतिवद्धता नआएसम्म काममा नफर्कने उनीहरूको भनाइ छ ।
१३ भन्सार एजेन्ट संघको ऐक्यबद्धता
महासंघले गरेको उक्त आह्वानमा महासंघमा आवद्ध १३ वटै भन्सार एजेन्ट संघले ऐक्यबद्धता जनाएका छन् । उनीहरूले आ–आफ्नो कार्यालयबाट हुने मालवस्तुको घोषणा गर्न अस्वीकार गरेका छन् । जनकपुरधाम, बाँके, कैलाली, रसुवा, पर्सा, काठमाडौँमा रहेका भन्सार एजेन्ट संघले त विज्ञप्ति नै जारी गर्दै पेन डाउनमा ऐक्यबद्धता जनाएका छन् ।
एजेन्टहरूले काम ठप्प पारेपछि भन्सार विन्दुमा हुने राजश्व संकलन लगभग ठप्प भएको छ । अघिल्ला दिनमै भन्सार घोषणा भई जाँचपास भएका मालवस्तुको आयात भए पनि नयाँ घोषणा बन्द हुँदा जाँचपास हुन सकेको छैन ।
के भन्छ भन्सार विभाग ?
भन्सार विभाग भने महासंघले राखेका माग पूरा गर्ने अधिकार आफूसँग नरहेको बताउँछ । भन्सार विभागका निर्देशक किशोर बर्तौला भन्सार एजेन्टहरूको असहमति संसदबाट पारित भएर कार्यान्वयनमा आएको ऐनमा भएको भन्दै यसलाई विभाग वा मन्त्रालयको स्तरबाट पूरा गर्नै नसक्ने अवस्था रहेको बताउँछन् ।
त्यसबाहेकका विषयमा भने विभाग सकारात्मक रहेको बर्तौलाको भनाइ छ ।
भन्सार ऐन संसदबाट पारित भई गत भदौ २२ गतेदेखि कार्यान्वयनमा आएको थियो । ऐन तर्जुमाका क्रममै यो विषयमा आफूहरूले असहमति राखे पनि त्यतिवेला बेवास्ता गरिएको एजेन्टहरूको आरोप छ ।
अहिले संसद् विघटन भएको अवस्थामा छ । यो अवस्थामा भन्सार एजेन्टहरू अनिश्चितकालसम्मका लागि भन्दै भन्सार घोषणा नै रोकेर आन्दोलनमा उत्रिएका हुन् ।
