निर्माण कम्पनी संख्या घटाएर क्षमता बढाउनुपर्छ : भौतिक सचिव शर्मा
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा निर्माण कम्पनीको संख्या घटाएर क्षमता बढाउनुपर्ने बताएका छन् ।
त्यस्तै नेपालमा एकीकृत खरिद ऐन बनाएर गल्ती गरियो कि भन्नेबारे समेत बहस गर्नुपर्ने उनको भनाइ छ । नेपाल पूर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘आजको दिनसम्म पनि भारतमा खरिद ऐन छैन किनकि क्षेत्र अनुसार आ–आफ्नै समस्या र विशेषता हुन्छन्, त्यसका लागि ऐन पनि छुट्टाछुट्टै हुन्छ,’ उनले भने, ‘डटपेन र जहाज किन्ने ऐन एउटै भयो भने समस्या हुन्छ, त्यसैले भारतमा खरिद ऐन छैन, ठेक्का सम्झौतामै धेरै कुरा सम्बोधन गरिन्छ, ऐनबाट हुँदैन ।’
यस्तै निर्माण कम्पनीमा ‘कर्पाेरेट कल्चर’ विकास हुनुपर्ने उनले बताए । पछिल्लो समय कोरोना लगायत कारण पनि ठेक्का रुग्ण भएको उनले उल्लेख गरे ।
यस्तै अब परियोजनाको लागत अनुमान गर्दा नै सामाजिक क्षेत्रमा हुने खर्च पनि समावेश गर्नुपर्ने उनको सुझाव छ । कतिपय अवस्थामा स्थानीयको माग सम्बोधन गर्दा पनि लागत बढ्न गई ठेक्का रुग्ण भएको उनले बताए ।
जथाभावी ठेक्का तोडिएको भए निर्माण व्यवसायीले न्याय पाउने पनि उनले बताए । हालसम्म २ अर्बको मात्रै ठेक्का तोडिएकाले निर्माण व्यवसायी आत्तिन नपर्ने उनको भनाइ छ ।
