खेलकुद सप्ताह सुरु, दुई खेलाडीलाई नगदसहित सम्मान
भक्तपुर । जनप्रेमी वर्ल्ड स्कुल भक्तपुरले आजदेखि सुरु गरेको जेडब्लुएस खेलकुद सप्ताहमा विभिन्न २० वटा खेलमा एक हजार ८०० विद्यार्थी प्रतिस्पर्धामा उत्रिएका छन् ।
मध्यपुर युथ एसोसिएसन खेल मैदान सानोठिमीमा आजदेखि सुरु भएको प्रतियोगिताको मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले उद्घाटन गरे ।
उनले मध्यपुरथिमि नगरपालिकामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन भइरहेको बताउँदै नगरपालिकाले शिक्षा र खेलकुदलाई सँगसँगै विकासका रुपमा अगाडि बढाइरहेको बताए ।
खेलकुदको विकासका लागि नगरपालिकाले वार्षिक बजेट विनियोजन गर्दै वडावडामा प्रशिक्षण सञ्चालन गरिरहेको र विद्यालयस्तरीय खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा जनप्रेमी वल्र्ड स्कुलका प्रिन्सिपल निलेश आचार्यले विद्यालयले हरेक वर्ष खेलकुद सप्ताह मनाउने घोषणा गर्दै विद्यालयस्तरबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने गरी खेलकुदको प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्दै आएको बताए । उनले प्रतियोगितामा विजेता हुने टोलीलाई सिल्ड र उत्कृष्ट खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिए ।
दुई खेलाडीलाई सम्मान :
नेपालको प्रतिनिधित्व गर्दै हालै इजिप्टमा सम्पन्न विश्व च्याम्पियन कराते प्रतियोगितामा सहभागी दुई खेलाडी एरिका गुरुङ र सानुमाया थिङलाई नगद रु पाँच हजारका दरले पुरस्कार एवं सम्मानपत्र प्रदान गरिएको छ ।
विद्यालयका अध्यक्ष मनोज आचार्यले नगद एवं नगर प्रमुख श्रेष्ठ र विद्यालयका प्रिन्सिपल आचार्यले सम्मानपत्र प्रदान गरे ।
कार्यक्रममा प्रिन्सिपल आचार्यले खेलाडीद्वय गुरुङ र थिङलाई आगामी वर्ष हुने अन्तरराष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेमा नगद रु ५० हजारका दरले पुरस्कार प्रदान गर्ने घोषणा गरे ।
