मंगलबार २३ मंसिर, २०८२

नाङ्लो बेकरीको ‘क्रोइसन्ट’ मा अत्यधिक ट्रान्स फ्याट भेटिएपछि बजारबाट फिर्ता गर्न निर्देशन

नाङ्लो बेकरीको ‘क्रोइसन्ट’ मा अत्यधिक ट्रान्स फ्याट भेटिएपछि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुरको गोदावरीस्थित नाङ्लो बेकरी प्रालिद्वारा उत्पादित ‘क्रोइसन्ट’मा तोकिएको मापदण्डभन्दा बढी हानिकारक चिल्लो पदार्थ (ट्रान्स फ्याट) भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । 

मंगलबार एक सूचना जारी गर्दै विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरिएको उक्त बेकरीको नमुना परीक्षण गर्दा न्यून गुणस्तरको पाइएको जानकारी दिएको हो ।

विभागका अनुसार, प्रयोगशालामा गरिएको परीक्षणमा उक्त खाद्य पदार्थमा ‘औद्योगिक ट्रान्स फ्याट’को मात्रा अधिकतम सीमा २ प्रतिशतभन्दा बढ्न नहुनेमा सोभन्दा बढी पाइएको थियो । 

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम उक्त उत्पादन न्यूनस्तरको ठहरिएपछि विभागले ऐनको दफा ३८ (२) र उपदफा (४) को प्रावधान टेकेर उक्त ब्याचका सबै उत्पादनहरू बजारबाट तत्काल फिर्ता गर्न र बिक्री वितरणमा पूर्ण रोक लगाउन आदेश जारी गरेको छ ।

विभागले रोक लगाएको उक्त उत्पादन ‘ब्याच नम्बर– ०१’ को रहेको छ ।  जसको उत्पादन मिति सन् २०२५ डिसेम्बर ३ र उपभोग्य मिति सन् २०२५ डिसेम्बर १० सम्म उल्लेख छ ।

नाङ्लो बेकरी, गोदावरी–१४, ललितपुरद्वारा उत्पादित यो ब्याचको क्रोइसन्ट स्वास्थ्यका लागि जोखिमपूर्ण देखिएकाले विभागले विभागीय निर्णयअनुसार नै बिक्री नगर्न/नगराउन सचेत गराएको छ ।