सहकारी ठगी प्रकरण: म्याद थपको लागि रवि र छविलाई अदालतमा उपस्थित गराइयो
पोखरा, ८ कात्तिक । सूर्यदर्शन सहकारीको रकम अनियमितता प्रकरणमा आरोप लागेपछि पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
प्रहरी स्रोतका अनुसार ढिलो गर्दा विरोध प्रदर्शन र भिडले असहजता हुन सक्ने भएकाले कार्यालय खुलेसँगै अदालतमा उपस्थित गराइएको हो ।
गत शुक्रबार काठमाडौंबाट लामिछानेलाई गिरफ्तार गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराइएको थियो । उनलाई पक्राउ परेकै दिनदेखि लागू हुने गरी अनुसन्धानका लागि ६ दिन म्याद दिइएको थियो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको आरोपमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ ।
उक्त मुद्दा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराइएको हो ।