एमालेलाई दिएको जग्गा विवादको रिट न्यायाधीश सुवेदीको इजलासमा पेसी

एमालेलाई दिएको जग्गा विवादको रिट न्यायाधीश सुवेदीको इजलासमा पेसी

काठमाडौं, ८ कात्तिक  । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ ।उक्त रिट न्यायाधीश नहकुल सुवेदीको इजलाशमा परेको छ । 

कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा १० रोपनी १४ आना जग्गामा दशैंको अष्टमीको दिन अर्थात् असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले भवन शिलान्यास गरेका थिए ।

ज्ञानबहादुर बस्नेतसहितका रिट दायर कर्ताले भाटभटेनीका सञ्चालक गुरुङले दिएको जग्गाको स्रोत नखुलेकाले गैरकानुनी रूपमा पार्टीले लिन नमिल्ने तर्क पेश गरेका छन् ।

‘एमाले पार्टीलाई दान गरेको जग्गाको मूल्य अहिलेको बजार भाउअनुसार एक अर्ब रूपैयाँभन्दा माथि रहेको बताइएको छ । यत्रो ठूलो धनराशि व्यवसायी गुरुङले कुन आस्वासन र के स्वार्थमा सत्ताको नेतृत्व गर्ने दल एमालेलाई दिनु भएको हो ?’ रिटमा प्रश्न गरिएको छ, ‘सबैले थाहा पाउनुपर्छ कि पर्दैन ? पारदर्शिता खोई ? दान गरिएको सम्पतिको स्रोत के हो ? सोको यकिन नहुँदासम्म उपहार दान वा सहयोग लिन नहुने कानुनी व्यवस्था राजनीतिक दलसम्बन्धी एन, २०७३ को दफा ३८ ले निषेध गरेको छ ।’

यो रिट सर्वोच्चका रजिष्ट्रार भद्रकाली पोखरेलले सुरुमा दरपीठ गरिदिएका थिए । तर दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा दर्ता गर्न आदेश दिएको थियो ।