युद्धग्रस्त इजरायलमा नेपाली श्रमिक तत्काल नपठाइने

युद्धग्रस्त इजरायलमा नेपाली श्रमिक तत्काल नपठाइने

काठमाडौं, ८ कात्तिक । सरकारले इजरायलमा नेपाली श्रमिक तत्काल नपठाउने निर्णय गरेको छ । सरकारले  इजरायल र अन्य देशबीचको युद्ध साम्य नभएपछि परिस्थिति सहज नहुँदासम्म श्रमिक नपठाउने निर्णय लिएको हो ।

वैदेशिक रोजगार विभागले इजरायलमा शान्तिपूर्ण अवस्था बनेपछि मात्रै श्रमिक पठाउने तयारी रहेको जानकारी दिएको छ । 

सरकार–सरकारबीचको सम्झौता अन्तर्गत गत १४ असोजमा केयर गिभरको रुपमा इजरायल जाने २ हजार ११२ जना नेपाली श्रमिकको चिठ्ठा प्रणालीबाट छनोट गरिएको थियो ।

इजरालयमा जाने नेपाली श्रमिकहरुको सुरक्षा सुनिश्चित भएपछि मात्रै पठाउने प्रक्रिया थाल्ने वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीको भनाई छ । 

गत वर्ष २१ असोजमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परेर इजरायलमा १० जना नेपालीको निधन भएको थियो। बेपत्ता भएका विपिन जोशीको अवस्था अझै अज्ञात छ ।

सरकारले उक्त घटनापछि विमान पठाएर २५३ जना र पछि भारत सरकारको सहयोगमा थप १८ जना नेपालीलाई स्वदेश फिर्ता ल्याएको थियो । 

हाल इजरायलमा करिब ४ हजार ५ सय नेपाली रहेको अनुमान छ ।  लेबनान र इरानले गरेको निरन्तरको युद्धका कारण अहिले त्यहाँ कार्यरत नेपालीहरु त्रसित अवस्थामा छन् ।