रवि लामिछाने पक्राउको विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन
काठमाडौं, ९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउको विरोध गर्दै पार्टीका कार्यकर्ताले काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन् ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्डसमेत बोकेका छन् ।
पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेलाई २ कात्तिकमा पार्टी मुख्यालयबाटै नियन्त्रणमा लिइएको थियो। सोही दिन राति पोखरा लगिएका उनलाई शनिबार सार्वजनिक बिदा परेकाले आइतबार मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो ।
पक्राउ परेको दिनदेखि नै लागू हुने गरी अदालतले लामिछानेमाथि अनुसन्धान गर्न ६ दिनको म्याद दिएको थियो।
तर, बयान नसकिए भन्दै प्रहरीले थप समय मागेपछि उनीमाथि अनुसन्धान गर्न बिहीबार फेरी कास्की अदालतले ७ दिनको थप म्याद दिएको छ ।
सोही मुद्दामा सत्ता निकटस्थमाथि अनुसन्धान नगरिएको तर राजनीतिक पूर्वाग्रहका आधारमा झुटा मुद्दा लगाएर फसाउन खोजिएको भन्दै रास्वपाले सभापति लामिछानेको पक्राउलाई 'राजनीतिक प्रतिशोधको संज्ञा' दिंदै आईरहेको छ ।