भाइटीकाको शुभ साइत कात्तिक १८ गते ११:३७ बजे
काठमाडौँ, १३ कात्तिक । यसपालीको कात्तिक १८ गते आइतबार भाइटीका लगाउनुपर्ने शुभ साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यस दिन बिहान ११ः३७ बजे भाइटीकाको शुभ साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ ।
सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् हुने उनले बताए । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।
झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ताअघिदेखि राजधानी लगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेका छन् । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजागरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिनेक्रम पनि सहरी क्षेत्रमा बढ्न थालेको छ ।
बडादसैँमा सुनसान प्रायः हुने काठमाडौँ उपत्यका तिहारमा झिलीमिलीले उत्सवमय बनेको छ । झिलीमिलीमा देउसी, भैलोको रमाइलोसँगै तिहारमा जुवा खेल्नैपर्छ भन्ने मान्यताले पनि कतिपयलाई आकर्षण गर्दछ । लक्ष्मीपूजाका दिन भलो होस् भनी भैलो र गोवर्द्धन पूजाका दिन देउसी खेल्ने गरिन्छ । कतिले भने विभिन्न सामाजिक कामको सहयोगका लागि तिहार अर्थात् यमपञ्चक लागेदेखि नै देउसी, भैलो खेल्ने गरेका छन् । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमाका दिन देखि नै देउसी भैलो खेल्ने परम्परा पनि रही आएको छ ।
कौडा, लङ्गुरबुर्जा, तासलगायत विभिन्न स्वरुपका जुवा तिहारका अवसरमा खेल्ने गरिन्छ । यसबाट कतिले जीतको आनन्दका साथै कतिले हारको नरमाइलो अनुभव पनि सँगाल्ने गर्छन् । धेरै पैसा राखेर जीत, हारका रुपमा जुवा खेल्दा कतिले भने धन सम्पत्ति नै सिध्याउने पनि गर्छन् । संस्कृतिका नाममा यस्ता विकृतिको भने अन्त्य हुनुपर्ने आवाज पनि उठ्ने गरेको छ ।
दीपावली अर्थात् तिहार पर्वका अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ । नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरे पनि पड्क्न भने छोडेको छैन । प्रत्येक वर्ष प्रहरीले एक साताअघिदेखि नै पटाका नपड्काई सभ्य रुपमा दोस्रो चाड तिहार मनाउन आह्वान गर्ने गरेको छ ।