कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्करबाट युवतीको मृत्यु

काठमाडौं, १५ फागुन । कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ। भीमदत्त नगरपालिका-१८ की २१ वर्षीया निर्मला बोहराको दुर्घटनामा मृत्यु भएको हो।
बिहीबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका-५ को वन समितिको क्षेत्रमा बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बोहराको घटनास्थलमै ज्यान गएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए।
मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ।
प्रहरीले ट्रकलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रशासनले जनाएको छ।