मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा उत्साह, एक घण्टामै ३ अर्ब बढीको कारोबार

काठमाडौं, १५ फागुन । मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा उत्साह देखिएको छ । पहिलो एक घण्टामा बजारमा ३ अर्ब २० करोडको कारोबार भएको छ ।
१२ बजेसम्म सेयर बजार परिसूचक नेप्से २६ अंक बढेको छ । सो वृद्धिपछि २७९२ मा कायम भएको छ । पहिलो एक घण्टामा बैंकिङ सेक्टरमा लगानीकर्ताको आकर्षण देखियो ।
मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेपछि बैंकहरुको नाफा करिब ५ अर्ब बढ्ने अनुमान गरिएको छ । यहीं कारण बैंकको सेयरमा आकर्षण देखिएको छ ।
यो सेक्टर २.६ प्रतिशत बढेको छ । माइक्रोफाइनान्स, लगानी र होटल सेक्टर पनि १ प्रतिशतभन्दा धेरै बढेका छन् ।
सेयर बजार :
१२ बजेसम्म १६२ कम्पनीको मूल्य बढ्दा ७८ को घटेको छ भने ४ को स्थिर रहेको छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड इदी मर्दी तथा कुमारी बैंक क्रमशः अगाडि देखिएका छन् ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र दोर्दीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ ।