मिथिला माध्यमिकी परिक्रमा सुरु, महाकुम्भको झल्को

जनकपुर, १५ फागुन । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ ।
बिहीबार फागुन कृष्णपक्षको औासीमा कचुरी मठबाट भगवान राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको छ ।
आज राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु भोली शुक्रवार बिहान पुजापाठ गरी भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्ने छन् ।
फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकीमन्दिर भएर जनकपुरधामको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवतरुपमा शुरुवात हुने परम्परा रहेको छ ।
श्रद्धालु भक्तजनहरुले नेपाली भू–भागको ९० किलोमिटर र भारतको ३० किलोमिटर दुरी परिक्रमा गर्ने गर्छन ।
नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमायात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छ ।
सोहीक्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्वरुकुण्ड हुंदै परिक्रमा कञ्चनवन पुग्छ ।
कञ्चनवनमा परिक्रमामा सहभागीहरुले एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको शूरुवात भएको मानिन्छ ।त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौलहुँदै पुनः कल्याणेश्वरबाट जनकपुर फर्केर विश्राम गर्छन् ।
फागुन पुर्णिमाका दिन परिक्रमावासीहरु जनकपुरको परिक्रमा अर्थात अन्तरगृह परिक्रमा पुरा गरेर घर फर्कने गर्छन् । अन्तरगृह परिक्रमाको भोलीपल्ट जनकपुरमा होली खेलिने परम्परा रहेको छ ।
परिक्रमाको धार्मिक लस्करमा नेपाल भारत सहितका लाखौँ श्रद्धालुको सहभागिता हुने भएकाले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ ।