बिहीबार १५ फागुन, २०८१

बैंकिङ समूह चम्किँदा सेयर बजारले २८ अंक नाघ्यो

बैंकिङ समूह चम्किँदा सेयर बजारले २८ अंक नाघ्यो

काठमाडौं, १५ फागुन  । आज (बिहीबार) सेयर बजारले २८ सय अंक नाघेको छ।

अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ४९.१५ अंक बढेको हो। सो वृद्धिपछि नेप्से २८१५ मा कायम भएको छ।

कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज ११ अर्ब ३९ करोडको भयो। १८६ कम्पनीको मूल्य बढ्दा ५२ को घट्यो भने ६ को स्थिर नै रह्यो।

आज बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.३२ प्रतिशत बढेको छ। मुख्यतः राष्ट्र बैंकको मौद्रिक नीति समीक्षाले असल वर्गमा बैंकहरुले छुट्याउनुपर्ने लोनलस प्रोभिजन दर १.१० बाट १ प्रतिशतमा झारिएपछि यस सेक्टरमा आकर्षण देखिएको छ।

यसले बैंकहरुले आगामी वित्तीय विवरणमा नाफा बढ्ने अनुमान गरिएको छ । यहीं कारण बिहीबार यो सेक्टरले छलाङ मारेको हो।

यद्यपि बजारका सबै सेक्टर बढेका छन्। बैंकिङ पछि उत्पादन सेक्टर २.९१ प्रतिशत बढ्यो। व्यापार १.२०, अन्य १.०१, निर्जीवन बीमा ०.७०, माइक्रोफाइनान्स ०.९१, जीवन बीमा ०.८१, लगानी १.२५, हाइड्रोपावर १.८०, होटल तथा पर्यटन १.१२, फाइनान्स ०.२८ र विकास बैंक समूह १.५३ प्रतिशत बढे।

चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, अपरहेवाखोला, सिन्धु विकास बैंक र दोर्दीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। लिबर्टी इनर्जीको मूल्य ९.९६, गुराँस लघुवित्तको ९.२४, बोटलर्स नेपाल बालाजुको ८.९९ प्रतिशत मूल्य बढ्यो।

भूगोल इनर्जीको ७.१७ तथा उपकार लघुवित्तको ६.२५ प्रतिशत मूल्य घट्यो। हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ९६ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भयो।

त्यसपछि धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, सिंगटी हाइड्रोपावर र कुमारी बैंक क्रमशः अगाडि रहे।