अमेरिका पठाइदिने भन्दै १ करोड ४४ लाख ठगी गर्ने ३ जना पक्राउ

काठमाडौ, १५ फागुन। वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा रूकुम पश्चिमको मुसिकोट नगरपालिका-१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-४ बस्ने २४ वर्षीय मनिषराज खड्का, रूकुम पश्चिमको मुसिकोट नगरपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने २७ वर्षीय मधु कुमार खड्का र ३४ वर्षीय विरेन्द्र खड्का रहेका छन्।
उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू हुँदै अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गरेका थिए ।
उनीहरूले अमेरिका पठाइदिछु भन्दै २ जना पीडितबाट १ करोड ४४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनिषराजलाई काठमाडौं महानगरपालिका-९ बाट तथा मधु कुमार र विरेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-८ बाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।