सुकेधारामा एक व्यक्तिको शंकास्पद अवस्थामा शव भेटियो

काठमाडौं, १५ फागुन । काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक एक जना व्यक्तिको शव भेटिएको छ ।
बुधबार राति धोबीखोला करिडोर नजिक धनवन्तरी फुटसल परिसरमा ओलखढुंगा स्थायी घर भएका तेस्रोलिङ्गी अड्विर राईको शव भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
शव भेटिएको सूचना पाएलगत्तै प्रहरी वृत्त, महाराजगञ्जको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, प्रारम्भिक जाँचमा राईको मृत्यु शंकास्पद देखिन्छ । शंकास्पद देखिएपछि यो प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समेत जाँच गरिरहेको छ । मृतक राईको टाउकोमा गम्भीर चोटहरु देखिएको छ ।