शनिबार ०३ साउन, २०८२

माधव नेपालबारे सञ्चारमन्त्री : अख्तियारको कामलाई प्रतिशोधपूर्ण भन्नु गलत

माधव नेपालबारे सञ्चारमन्त्री : अख्तियारको कामलाई प्रतिशोधपूर्ण भन्नु गलत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा (पीएस) गुरुङले पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले गरेको कामकारबाहीमा सरकारलाई दोष लगाउनु उचित नभएको बताएका छन् ।

पतञ्जलि जग्गा प्रकरणमा बिहिबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । शुक्रबार बिराटनगरमा सञ्चारकर्मीको कुराकानी गर्दै मन्त्री गुरुङले सरकार अधिनायकवादी हुन्छ भनेर नै संवैधानिक निकायहरु बनाइने गरिएको बताए ।

अख्तियारले आफ्नो अधिकार प्रयोग गरेर कानुनी प्रक्रिया शुरु गरेकोले यसलाई प्रतिशोध भन्नु गलत भएको उनको तर्क छ । सरकारले फाइल खोल्ने भनेर कतै नभनेको र अहिले पनि अख्तियारले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेको मन्त्री गुरुङको भनाइ छ ।

त्यस्तै उनले भिजिट भिसा प्रकरणमा कुनै कर्मचारीले गलत गर्दैमा गृहमन्त्रीको राजीनामा माग्नु उपर्युक्त नहुने बताए । भिजिट भिसा प्रकरणमा विपक्षी दलले सरकार र सत्तारुढ दलविरुद्ध प्रतिशोधको राजनीति गरिरहेको उनको आरोप छ ।

मन्त्री गुरुङले निजामती सेवा ऐन तथा शिक्षा विधेयक सदन अवरुद्ध भएकाले टेबुल हुन नसकेको बताउँदै चालु बजेट अधिवेशनबाटै यो दुवै विधेयक पास हुने विश्वास व्यक्त गरे ।