सोमबार २२ मंसिर, २०८२

एसीसी यू-१६ इस्ट जोन कप: नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्ट जोन कप:  नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । नेपालले जापानलाई ९ विकेटले हराएको हो ।

जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । शिवांश बजगाइ ३८ तथा प्रसिद्ध जैसी ३३ रनमा अविजित रहे ।

त्यसअघि बाँयाहाते स्पिनर शुभम खनालले ५ विकेट लिएपछि नेपालले जापानलाई सामान्य योगफलमा अलआउट गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा अलआउट भएको थियो । कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए ।

नेपालका  लागि शुभम खनालले १० ओभरमा १५ रन मात्र दिएर ५ विकेट लिए । अभय यादवले २ तथा सुशील रावल र बिपिन प्रसाद शर्माले १-१ विकेट लिए ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो ।

यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ । नेपाल समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै छ ।

नेपालले अब तेस्रो खेलमा २९ जुनमा सिंगापुरसँग खेल्नेछ ।