सोमबार २२ मंसिर, २०८२

वेस्ट इन्डिजसँगको दोस्रो टेस्टमा अस्ट्रेलियाको प्रभावशाली जित

वेस्ट इन्डिजसँगको दोस्रो टेस्टमा अस्ट्रेलियाको प्रभावशाली जित

काठमाडौं । अस्ट्रेलियाले ग्रेनेडामा भएको दोस्रो टेस्टमा वेस्ट इन्डिजमाथि १३३ रनको प्रभावशाली जित हासिल गर्दै ३ खेलको शृंखलामा २–० को अग्रता बनाएको छ ।

यो जितसँगै अस्ट्रेलियाले सन् १९९५ देखि आफ्नो कब्जामा रहेको फ्र्यांक वोरेल ट्रफी फेरि एकपटक रक्षा गरेको छ।

वेस्ट इन्डिजलाई जितका लागि २७७ रनको लक्ष्य दिएको अस्ट्रेलियाले चौथो दिनको दोस्रो सेसनमै घरेलु टोलीलाई १४३ रनमा समेट्यो। मिचेल स्टार्कले २४ रन मात्र दिएर ३ विकेट लिए भने नाथन लायनले पनि ३ विकेट लिए।

स्टार्क आफ्नो १००औं टेस्ट खेलअघि ३९५ विकेटमा पुगेका छन् भने लायन अब ग्लेन म्याक्ग्राथको ५६३ विकेट नजिक छन्।

त्यसअघि चौथो दिनमा २२१-७ को अवस्थाबाट सुरु गरेको अस्ट्रेलियाले अन्तिम तीन विकेटबाट जम्मा २२ रन मात्र थप्न सकेको थियो । दोस्रो इनिङमा स्टिभ स्मिथले ७१ र क्यामरुन ग्रिनले ५२ रन बनाउँदै टोलीलाई सशक्त स्थितिमा पुर्‍याएका थिए। वेस्ट इन्डिजका शमार जोसेफले ४ तथा अल्जारी जोसेफ, जेडन सिल्स र जस्टिन ग्रिभ्सले २-२ विकेट लिए ।

जवाफमा वेस्ट इन्डिजको पारी भने सुरुवातमै धराशायी भयो। जोश हेजलवुडले आफ्नो दोस्रो बलमै जोन क्याम्पबेललाई एलबीडब्लु आउट गर्दै सुरुवातमा दबाब बनाए। कप्तान प्याट कमिन्सले ब्रान्डन किङको अफ स्टम्प उडाउँदै शानदार बलिङ प्रदर्शन गरे।

शाई होप र रोस्टन चेसले केही समय टिकेर आक्रामक खेल्ने प्रयास गरे पनि टिक्न सकेनन्। होप हेजलवुडको बलमा पुल गर्ने क्रममा क्याच भए भने चेस स्टार्कको बलमा एलबिडब्लु भए। चेजले सर्वाधिक ३४ रन बनाए भने शमारले २४ रन बनाए ।

त्यसअघि पहिलो इनिङमा एलेक्स क्यारी र बियू वेबस्टरको अर्धशतक मद्दतमा २८६ रन बनाएको अस्ट्रेलियाले जवाफमा वेस्ट इन्डिजलाई २५३ रनमा अलआउट गर्दै ३३ रनको अग्रताका साथ दोस्रो इनिङको सुरुवात गरेको थियो ।

अब दुई टोलीबीचको अन्तिम टेस्ट जमैकाको सबिना पार्कमा जुलाई १२ देखि डे-नाइट टेस्टको रूपमा हुनेछ।