अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) लाई एनपीएलको विषयमा चाँडै स्पष्ट जवाफ पेश गर्न माग गरेको छ ।
छानबिन समितिको आइतबार क्यानलाई पत्र लेख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन कार्य सम्पन्न नहुँदासम्म एनपीएलको दोस्रो संस्करणसँग जोडिने कुनै पनि काम नगर्न निर्देशन दिएको छ ।
यसअघि पनि छानबिन कार्यदलले क्यानलाई पत्र लेख्दै विभिन्न विषयमा स्पष्ट जवाफ माग गरेको थियो । यसपटक भने छानबिन कार्यदलले क्यानलाई कडा भाषामा पत्र लेख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको स्पष्ट जवाफ पेश गर्न छानबिनमा सहयोग गर्न भनेको छ । साथै उक्त छानबिन कार्य नटुंगीएसम्म एनपीएल सम्बन्धी कुनै काम नगर्नु नगराउनु भनेर भनेको छ ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा स्पष्ट जवाफ पेश गरी यस कार्यदलले प्रतिवेदन पेश गरी यस कार्यदलले प्रतिवेदन पेस गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन कार्य सम्पन्न नहुँदासम्म नेपाल प्रिमियर लिगसम्बन्धी कुनै कार्य नगर्नू नगराउनू हुन समेत जानकारी गराइन्छ,’ छानबिन कार्यदलले क्यानलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।
छानबिन कार्यदलले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गरी पछिल्लो पत्र पठाएको हो ।
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण २०८१ साल मंसिर १५ देखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको थियो । तर पहिलो संस्करण भव्य रूपमा सफल भए पनि एनपीएलको आयोजनासँग जोडिएको विभिन्न विषयमा अनियमितता भएको र आर्थिक हिसाबकिताब समेत सार्वजनिक नगरेको भन्दै अख्तियारसम्म उजुरी परेको छ ।
