आइतबार २१ मंसिर, २०८२

आमरण अनसन बसेका मेयर भट्टराईको स्वास्थ्यमा सुधार, अस्पतालमै उपचार हुँदै

आमरण अनसन बसेका मेयर भट्टराईको स्वास्थ्यमा सुधार, अस्पतालमै उपचार हुँदै

काठमाडौँ । अस्पताल भर्ना भएका मेयर तीर्थराज भट्टराईको स्वास्थ्यमा सुधार आएको छ । विभिन्न माग गर्दै माइतीघरमा आमरण अनसन बसेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराई समस्या देखिएपछि बुधबार राति ११  बजे वीर अस्पतालमा भर्ना भएका थिए । 

उनको उपचारपछि आज स्वास्थ्यमा सुधार देखिएको सचिवालयले जनाएको छ । 

‘चार दिनदेखि भोको भएको कारणले स्वास्थ्यमा समस्या देखियो । हिजो राति अस्पताल भर्ना हुनुभएको हो । उपचारका क्रममा डाक्टरले सुगर कमी भएको भनेको छ ,’मेयरको सचिवालय चिरञ्जीवी खतिवडाले भने,‘अहिले उहाँको स्वास्थ्यमा सुधार देखिए पनि डाक्टरले खान नखाएसम्म डिस्चार्ज नगर्ने भनेको छ ।’

मेयर भट्टराई आइतबारदेखि सात बुँदे मागसहित सत्याग्रह बसेका थिए । तर सरकारले बेवास्ता गरेपछि बुधबारदेखि आमरण अनसन बसेका भट्टराईलाई बुधबार राति नै अस्पताल भर्ना गरिएको हो । भट्टराईको राति ११ बजेतिर स्वास्थ्य बिग्रिएपछि वीर अस्पताल भर्ना गरिएको  खतिवडाले जानकारी दिए ।