सोमबार २२ मंसिर, २०८२

बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिँदै, साँझ ६ बजे पत्रकार सम्मेलन

बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिँदै, साँझ ६ बजे पत्रकार सम्मेलन

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज साँझ पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिने भएका छन् ।

मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालका अनुसार पत्रकार सम्मेलनबाट मुख्यमन्त्री लामाले राजीनामा दिने जानकारी दिए ।

१४ साउनमा कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा लामाले मार्गप्रसस्त गर्न लागेका हुन् ।

शनिबार सभापति देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । लामाको राजीनामापछि बानियाँले सोमबार प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी रहेको उनी निकट सांसद मिनकृष्ण महर्जनले बताए ।

मुख्यमन्त्री लामाले संसदीय दलको नेताबाट पराजित भए पनि सरकारको नेतृत्व छाड्नुपर्ने कुनै आधार नरहेको बताउँदै आएका थिए ।

दलको नेतामा चयन भएका बानियाँले कांग्रेस संसदीय दलको विधान अनुसार लामाले राजीनामा दिनुपर्ने बताउँदै विधि र पद्धतिबाटै बसदा गरिने बताएका थिए ।

मुख्यमन्त्री नछाड्ने अडानपछि १६ साउनमा उनलाई सभापति देउवाले काठमाडौं बोलाएका थिए । देउवासँग भेटपछि उनी सरकार छोड्न तयार भएको कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले अनलाइनखबरलाई जानकारी दिए ।

९ साउनमा आफ्नै बहुमत सांसदले दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री लामा संकटमा परेका थिए ।

१३ साउनमा कांग्रेसका ३७ सांसदमध्ये अविश्वासको प्रस्तावमाथि मतविभाजन हुँदा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षामा १५ मत परेपछि लामाले दलको नेताको हैसियत गुमाएका थिए ।

१४ साउनमा दलको नेता चयनका लागि भएको निर्वाचनमा बानियाँले २२, बहादुरले १४ मत ल्याएका थिए भने १ मत बदर भएको थियो ।