आइतबार २१ मंसिर, २०८२

नाडा अटो शोमा ३६ ब्राण्डको सहभागिता, फ्लाइङ र भिन्टेज कार मुख्य आकर्षण

नाडा अटो शोमा ३६ ब्राण्डको सहभागिता, फ्लाइङ र भिन्टेज कार मुख्य आकर्षण

काठमाडौं  । राजधानी काठमाडौंमा आगामी भदौ ३ देखि ८ गतेसम्म आयोजना हुन लागेको ‘१७औं नाडा अटो शो २०२५’ मा ३६ सवारी ब्राण्डहरूको सहभागिता रहने भएको छ । अटोमोबाइल्स क्षेत्रको ठूलो प्रदर्शनी मानिने उक्त शोमा यसपटक फ्लाइङ कार, रोबोट, तथा ऐतिहासिक भिन्टेज गाडीहरू मुख्य आकर्षण हुनेछन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले जानकारी दिँदै अटो शो यसपटक अझ विशेष र भव्य हुने बताए। उनका अनुसार, पहिलोपटक रोबोटदेखि फ्लाइङ कारसम्म अटो शोमा प्रदर्शन गरिनेछ।

भिन्टेज मोटर शो विशेष आकर्षण

यसपटकको अटो शोमा १२ वटा ऐतिहासिक गाडीहरू प्रदर्शनीमा राखिनेछन्। तीमध्ये मोसिर माइनर, प्युजो, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, र टोयोटा कोरोला जस्ता गाडीहरू समावेश हुनेछन्।

विविध सवारी र सहायक सामाग्रीको प्रदर्शनी

शोमा १९ वटा चारपांग्रे, १३ लाइट कमर्शियल, र ४ दुइपांग्रे सवारी ब्राण्डहरूले सहभागिता जनाउनेछन्। साथै, ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, ब्याट्री, र बैंक तथा वित्तीय संस्थाहरूका स्टलहरू समेत रहने छन्।

‘मेड इन नेपाल’ पभिलियन र विशेष कार्यक्रमहरू

स्वदेशी सवारीसाधन तथा स्पेयर पार्ट्सलाई प्रवर्द्धन गर्न ‘मेड इन नेपाल पभिलियन’ को व्यवस्था गरिएको आयोजकले जनाएको छ। साथै, शो अवधिभर सेमिनार, कार्यशाला, अन्तरक्रिया कार्यक्रम, साथै मिडिया र ट्राफिक सूचना डेस्क पनि रहनेछ।

टिकट बुकिङ र क्यासब्याक अफर

अटो शोको लागि टिकट बुकिङ खुला भइसकेको छ। भदौ २ गतेसम्म अग्रिम बुकिङ गर्ने दर्शकले २० प्रतिशत क्यासब्याक पाउने छन्।

उक्त शोको मुख्य प्रायोजक एमएडब्लू वृद्धि रहेको छ।

नाडा अटो शो विगत वर्षहरूमा जस्तै यस वर्ष पनि देशभरका अटो प्रेमी र व्यवसायीकहरूको आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।