सोमबार २२ मंसिर, २०८२

जनैपूर्णिमा नजिकिँदै गर्दा असन बजारमा रौनक, जनै र रक्षाबन्धनका सामग्री किन्नेहरुको भिड

जनैपूर्णिमा नजिकिँदै गर्दा असन बजारमा रौनक, जनै र रक्षाबन्धनका सामग्री किन्नेहरुको भिड

काठमाडौं । जनैपूर्णिमा नजिकिएसँगै बजारमा जनै र रक्षाबन्धनका सामग्री किन्नेहरूको चहलपहल बढेको छ । काठमाडौंको असनमा पनि जनै र रक्षाबन्धनका सामग्री किन्नेहरूको चहलपहल बढेको हो । यस वर्षको जनैपूर्णिमा यही साउन २४ गते परेको छ ।

यस दिन हिन्दू धर्मावलम्बीहरूले जनै धारण गरेर पर्व मनाउने गर्दछन् । नुहाइधुवाइ गरी मान्यजन र गुरु पुरोहितबाट जनै लगाउने प्रचलन छ । जनै विशेष रुपले मन्त्रिएको धागोको डोरो हो ।

जनैपूर्णिमाको दिन बिहानै चोखो माटो, खरानी, गोबर, जौ, तिल र कुश प्रयोग गरी स्नान गर्ने चलन छ । स्नान गरेपछि पुरानो जनै शरीरबाट निकालेर नयाँ जनै लगाउने गरिन्छ ।

साउन शुक्ल पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर जनै फेर्छन् र गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।

मानव रक्षाका लागि भन्दै जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।

तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्दछन् ।