सोमबार २२ मंसिर, २०८२

जनकपुरमा रेल र टाटा कार ठोक्किए, गाडी भित्र सबैजना सुरक्षित

जनकपुरमा रेल र टाटा कार ठोक्किए, गाडी भित्र सबैजना सुरक्षित

धनुषा, २५ साउन । जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र कार एकआपसमा ठोक्किँदा कारमा सवार तीनै जना यात्रु सुरक्षित रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी रेल्वे स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग बागमती प्रदेश ०१–०२५ च १२९० नम्बरको टाटा टियागो कार क्रसिङ क्षेत्रमा ठोक्किएको थियो।

ठक्करका कारण कारमा बाह्य क्षति भए पनि यसको संरचनात्मक मजबुतीका कारण यात्रुहरूलाई सामान्य चोटपटक मात्र लागेको प्रहरीले जनाएको छ। स्थानीय प्रत्यक्षदर्शीहरूले ठक्करको ठूलो आवाज सुनिएको र तत्कालै प्रभावकारी उद्धार कार्य सम्पन्न भएको बताएका छन्।

दुर्घटनापछि केही समयका लागि रेल सेवा अवरुद्ध भए पनि प्रहरीको पहलमा चाँडै सेवा सुचारु गरिएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा यात्रुहरू सुरक्षित रहनुमा कारको बलियो संरचना निर्णायक भएको ठहर गरिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।