सोमबार २२ मंसिर, २०८२

समाजवादीमा वामदेव गौतमले पाए केन्द्रीय विभाग संयोजनको जिम्मेवारी

समाजवादीमा वामदेव गौतमले पाए केन्द्रीय विभाग संयोजनको जिम्मेवारी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेता वामदेव गौतमलाई पार्टीका केन्द्रीय विभागको संयोजन गर्ने जिम्मा दिएको छ । शुक्रबार बसेको सो पार्टीको सचिवालय बैठकले गौतमलाई विभागको संयोजन गर्ने जिम्मेवारी दिएको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । 

बैठकमा अध्यक्ष माधवकुमार नेपालले समसामयिक राष्ट्रिय राजनीतिका बारेमा ब्रिफिङ गरेका थिए ।  ‘जनतालाई हैरानी दिने अहिलेको सरकार असफल र असक्षम भयो’, अध्यक्ष नेपालले बैठकमा भनेका छन् । 

त्यस्तै नेतृ रामकुमारी झाँक्रीले आत्मालोचना प्रस्ताव पेस गरेकाले उनीसँग थप छलफल गरेर अघि बढ्ने निर्णय पनि बैठकले गरेको छ । 

बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित समाजवादी मोर्चासँग सहकार्यका लागि भएका छलफलका सम्बन्धमा पनि अध्यक्ष नेपालले ब्रिफिङ गरेका छन् ।  ‘अन्तरपार्टी छलफल गर्दै सुदृढ र सहकार्य बलियो बनाउने तथा मोर्चालाई प्रभावकारी बनाउने विषयमा भएका छलफलको प्रगति अध्यक्षबाट जानकारी गराउनुभयो’, अध्यक्ष नेपालको भनाइ उदृत गर्दै नेता ज्वालाले जानकारी दिए । सो पार्टीले रुपन्देही ३ मा हुने उपनिर्वाचनका  सन्दर्भमा प्रदेश अध्यक्षलाई सुझाव दिन निर्देशन दिएको छ । त्यस्तै बैठकले पार्टी निर्माणका सवालमा आगामी कार्ययोजना समेत पारित गरेको छ । 

‘संगठन निर्माण, प्रशिक्षण र आन्दोलनका कार्यक्रम पास भएका छन् । यीसहित थप एजेन्डा बनाएर आगामी बैठकमार्फत अनुमोदन गरिनेछ’, ज्वालाले बैठकपछि भने । 

त्यसबाहेक जनसरोकारका विषयमा समसामयिक प्रस्ताव पारित गरेको छ । पारित प्रस्ताव शिक्षा, स्वास्थ्य, कृषि र सरकारले बनाउन लागेका ऐन कानुनलगायत छन् ।

एकीकृत समाजवादीमा विभिन्न ३२ वटा विभाग रहेका छन् । गौतमले यसअघि सङ्गठन विभागको प्रमुखको जिम्मेवारी माग गरेका थिए ।