वरिष्ठ गीतकार एवं साहित्यकार प्रेम विनोद नन्दनको निधन
काठमाडौँ। साहित्यकार प्रेमविनोद नन्दनको निधन भएको छ।
आइतबार राति साढे ९ बजेतिर उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उनको निधन भएको हो। लामो समयदेखि श्वासप्रश्वासलगायत रोगबाट उनी बिरामी रहेको पारिवारिक स्रोतले जनाएको छ।
नन्दनको गीत, गजल र कविता लेखनमा सक्रिय थिए। चार गीति संग्रह, एक लघु काव्य र एक कविता संग्रह प्रकाशित छन्। वि.सं. २०११ सालमै ‘झटारो’ गीतिसंग्रह प्रकाशन गरेका उनका गीत नेपाली चलचित्रमा पनि समावेश छन्। नन्दनलाई राष्ट्रकवि माधव घिमिरे नेपाली साहित्यका ‘गोल सिमल’ भन्ने गरेका थिए। नन्दनका झटारो, अञ्जली, सपनीवाट ब्यूझेर, विपनीका पाइलाहरु, ऐना भित्रको आकाश गिती संग्रह, सिद्धार्थको ग्रह त्याग लघु काब्य र पत्रम पुष्पम कविता संग्रह २०७७ प्रकाशित छन्।
१९९२ साल जेठमा तनहुँको बन्दीपुरमा जन्मेका नन्दन बसाइँ सरेर नारायणगढमा बस्दै आएका थिए।
नन्दनले लेखेका गीतहरुमा नातिकाजी, शम्भुजित बाँस्कोटा, गोपाल योञ्जनलगायतका संगीतकारले संगीत र आशा भोस्ले, सुरेश वार्कर, नगत अजिज, उदितनारायण, दिपा झा, प्रेमध्वज प्रधान, शिव शंकर, प्रसाद श्रेष्ठलगायतका गायक गायिकाहरूले स्वर दिइसकेका छन्।
नन्दनले छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए। उनका श्रीमती, तीन छोरा र तीन छोरी छन्।
