‘नाडा अटो शो २०२५’ पृथक र विशेष हुनेछ : नाडा अध्यक्ष करण चौधरी
काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने ‘नाडा अटो शो २०२५’ अन्य वर्षभन्दा पृथक र विशेष हुने बताएका छन् ।
‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुने यसपटकको अटो शोमा १९ वटा चारपांग्रे, १३ वटा हल्का व्यावसायिक, ४ वटा दुईपांग्रे ब्रान्डका सवारी साधनसहित ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण तथा वित्तीय संस्थासहित ३५ कम्पनी सहभागी हुनेछन् ।
अध्यक्ष चौधरीका अनुसार अटो शोमा करिब एक लाखभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको छ । उनले भने, “नाडा अटो शो केवल प्रदर्शनी मात्र नभई व्यापारीका लागि पर्व हो । यसपटकको तयारी विशेष बनाइएको छ र यसलाई सफल बनाउन टिम २४ घण्टा नै लागिपरेको छ ।”
यसपटकको अटो शोमा पहिलोपटक ‘फलाइङ ट्याक्सी’ र ‘रोबोटिक प्रदर्शनी’ राखिने भएको छ । चौधरीका अनुसार यसले भविष्यमा चालकविहीन सवारीसाधनको सम्भावनाबारे आभास दिनेछ ।
उनले इभी (विद्युतीय) गाडीलाई पेट्रोल–डिजेल सवारीको विकल्प नभई ‘उपभोक्ताको छनोट’ को विषय भएको बताए । साथै भविष्यमा नाडा अटो शोलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने सम्भावना रहेको पनि उल्लेख गरे ।
