नाडा अटो शो– २०२५ आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै
काठमाडौं । १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ आज (भदौ ३ गते)देखि सुरू हुने भएको छ ।
नाडा एशोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको उक्त अटो शोको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका हुन् ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने अटो शो भदौ ८ गतेसम्म संचालन हुनेछ । यसपटक नाडा अटो शोमा ३६ ब्राण्डले सहभागिता जनाएका छन् ।
अटो शोमा १९ चारपाँग्रे, १३ लाइट कमर्शियल र ४ दुइपाँग्रे सवारी ब्राण्डले सहभागिता जनाउने छन् । त्यस्तै, ३५ बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहने छन् ।
नाडा अटो शो करिब डेढ दर्जन (चारपाँगे/दुईपाँग्रे) नयाँ सवारी मोडल सार्वजनिक हुने छन् । अटो शोलाई भव्य बनाउन पहिलो पटक रोबोट, फ्लाइङ कार, १ दर्जन भिन्टेज कार प्रदर्शन गरिँदै छ ।
अटो शोमा स्वदेशी उत्पादन भएका सवारी साधन तथा स्पेयर पार्टसको लागि छुट्टै ‘मेड इन नेपाल पभिलियन’को व्यवस्था गरिएको छ ।
अटो शोमा मिडिया, ट्राफिक सूचना डेस्कको पनि व्यवस्था गरिएको छ । अटो शोमा सवारी साधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गरिने नाडाले जनाएको छ ।
यी हुन् नाडा अटो शोमा सहभागी हुने ब्राण्डहरू
चारपाँग्रे : दीपल, अवतार, डोङफेङ, नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, एवोन, एक्सपेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, बीएडब्लू, जेवाइ एयर, एलएस अटो, ब्लभल र जिनपेङ ।
दुईपाँग्रे : हिरो, रोयल इनफिल्ड, जोनसन र यामाहा ।
कमर्शियल : न्यू गोन्वो, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवाइसी, किङलङ, मोन्त्रा, स्काइवर्थ, कावेईरनाभेको र सनलङ ।
