आइतबार २१ मंसिर, २०८२

नाडा अटो शो २०२५ को भव्य उद्घाटन, अध्यक्ष चौधरी- ‘हामी ९० प्रतिशत अटो व्यवसायीको प्रतिनिधित्व गर्छौँ’

नाडा अटो शो २०२५ को भव्य उद्घाटन, अध्यक्ष चौधरी- ‘हामी ९० प्रतिशत  अटो व्यवसायीको प्रतिनिधित्व गर्छौँ’

काठमाडौँ । नाडा अटो शो-२०२५ सुरु भएको छ । मंगलबार काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा नाडा अटो शोको यो वर्षको संस्करण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शोको उद्घाटन गरेका छन् ।

कार्यक्रममा एशोसिएसनका अध्यक्ष करण चौधरीले यो अटो शोले कुल अटोमोबाइल्स व्यापारको ४० प्रतिशत हिस्सा ओगट्ने भन्दै यो एउटा प्रदर्शनी मात्रै नभएर व्यापारिक केन्द्र भएको बताए । 

अध्यक्ष चौधरीले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै अहिले यो क्षेत्रले नेपालमा १० लाख रोजगारी सिर्जना गरेको र ३ हजार व्यवसायीलाई एकीकृत गरेको दाबी गरे ।  

'नाडा यस्तो संस्था हो जसले ९० प्रतिशत अटोमोबाइल्स सेक्टरको प्रतिनिधित्व गर्छ,' अध्यक्ष चौधरीले भने, 'हामी सीप र रोजगार दुवै सिर्जना गर्छौँ ।' अध्यक्ष चौधरीले सरकारले ल्याएको बजेट पछिल्लो १० वर्षमा नदेखेको बजेट भएको भन्दै अर्थमन्त्रीको प्रशंसा गरे । 

उनले आउँदो मौद्रिक नीतिको समीक्षाले अटोमोबाइल क्षेत्रका लागि थप सकारात्मक व्यवस्थाहरू आउनेमा आशावादी रहेको बताए । साथै, सरकारले ल्याउन लागेको नयाँ यातायात मापदण्डले पनि व्यवसायीलाई उत्साहित बनाएको उनको भनाइ थियो ।

नेपालमा सवारीसाधन एसेम्बल गर्नु जरुरी भए तापनि पार्टपुर्जा नेपालमै उत्पादन हुनु अझ महत्त्वपूर्ण हुनेमा उनले जोड दिए । 'पार्टपुर्जा नेपालमै उत्पादन भयो भने त्योभन्दा ठुलो केही हुने छैन,' उनले भने ।

यस पटकको नाडा अटो शोमा पहिलोपटक ह्युमनोइड रोबोट र उड्ने कार पनि प्रदर्शनीमा राखिएको छ, जसले अवलोकनकर्तामाझ नयाँ आकर्षण थपेको छ । आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको यो प्रदर्शनी ६ दिनसम्म चल्नेछ ।