आइतबार २१ मंसिर, २०८२

नाडा अटो शो : दुई दिनमै ४८ हजारभन्दा बढीले गरे अवलोकन

नाडा अटो शो : दुई दिनमै ४८ हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो शो–२०२५’मा अवलोकनकर्ताको भीड बढ्दै गएको छ । 

मंगलबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको अटो शोमा हरेक दिन आगन्तुकहरूको भीड बढ्दै गएको छ । अटो शोको पहिलो दिन मंगलबार १९ हजार ७ सय ६ जनाले अवलोकन गरेका थिए । 

अटो शोमा दोस्रो दिन करिब १० हजारले बढेर २८ हजार ९ सय ७८ जनाले अवलोकन गरेको नाडा अटो शोका संयोजक अनुपकुमार बरालले जानकारी दिए ।  

उनका अनुसार शो अवलोकन गर्नेहरूको सख्या हरेक दिन वृद्धि हुँदै गएको बताए । उनले भने,‘ दुई दिनको तथ्याङ्क हेर्दा नाडाले अनुमान गरेको भन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । त्यो अवस्था बुधवार आएका अवलोकनकर्ताहरूको भीडले पनि देखाएको छ ।’

सवारीसाधनका सौखिनहरूका लागि ‘नाडा अटो शो’ मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि ‘उड्ने कार’ हेर्न  दर्शकहरुको भिड लागेको देखिन्छ । मुख्य आकर्षण युनिट्री रोबोटिक डग, अत्याधुनिक चारपांग्रे रोबोट्स र दीपलको ईभीटीओएल फ्लाइङ ट्याक्सी (उड्ने ट्याक्सी) छ । अटो शो ८ भदौसम्म चल्ने छ । 

अटो शोमा टायर, ब्याट्रीदेखि चारपांग्रे सवारीसाधनसम्म अवलोकन र बुकिङ गर्न पाइनेछ ।

अटो शोको अवसरमा कम्पनीहरूले गाडी खरिद र बुकिङका लागि अफरै–अफर घोषणा गरेका छन् । अटो शोको उद्घाटन प्रधानमन्त्रीले गरेका थिए भने कार्यक्रममा अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री समेतको सहभागिता थियो । 

त्यस्तै, अटो शो हेर्नको लागि भिआईपीहरुको समेत लाइन लागि रहेको छ । बुधबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली,राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको टोलीले अटो शोको अवलोकन गर्न पुगेका थिए । 

अटो शोमा पुगेर उनीहरुले दीपलको ईभीटीओएल फ्लाइङ ट्याक्सीबारे जानकारी लिँदै चढेर फोटोसमेत खिचाए ।

नाडाका महासचिव महासचिव सुरेन्द्रकुमार उप्रेतीले भीआईपीहरुको उपस्थितिले आयोजकलाई हौसला प्रदान गरेको बताए । उनले यो वर्षको अटो शोमा आगन्तुकको उपस्थिति सोचेभन्दा राम्रो रहेको बताए ।

उनले भने,‘ अटो शोमा आकर्षक उड्ने कार र रोर्बड रहेको छन् भने एउटै छानमुनी ब्याट्री, टायर, लुब्रिकेन्ट र विभिन्न कम्पनीका सवारीसाधनको स्टल, बैंक तथा वित्तीय संस्था, बिमाको समेत स्टल रहेको छ । त्यसले पनि ग्राहकलाई अटो शोले तानेको छ ।’