प्रकाश सपुत र परीक्षा लिम्बुको ‘सोल्टिनी’ भाइटीकामा
काठमाडौं । पाँच पोस्टर सार्वजनिक गर्दै कथानक फिल्म ’सोल्टिनी’को प्रदर्शन मिति घोषणा भएको छ ।
प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर यो फिल्म अब कार्तिक ६ गते तिहार भाइटीकाको दिनमा प्रदर्शनमा आउने जनाइएको छ ।
कार्यकारी निर्माताको रूपमा ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ छ । यो समूहको नेतृत्वमा धरान महानगरपालिकामा मेयर हर्क साम्पाङ छन् ।
फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन्, जसमा प्रकाश र परीक्षाको साथमा विल्सनविक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारको अभिनय छ ।
चार भिन्न पोस्टरले कथावस्तु दर्शाउँछ । जसअनुसार, यो फिल्म प्रेम, संस्कृति र ग्रामीण सेटिङमा बनेको बुझ्न सकिन्छ ।
फिल्मले दर्शकलाई फरक स्वादको कथासँग जोड्ने निर्देशक सुवेदीले दावी गरे । समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्धको कथावस्तु प्रस्तुत गरिएको जनाइएको छ ।
इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय थलोमा फिल्म छायाङ्कन गरिएको छ ।
