अष्ट्रेलियामा बढ्दो समुद्री सतह, १५ लाख मानिस जोखिममा
काठमाडौं । जलवायु परिवर्तनका कारण बढ्दो समुद्री सतह र तटीय बाढीले सन् २०५० सम्ममा १५ लाखभन्दा बढी अष्ट्रेलियाली नागरिकको घर, जीविकोपार्जन र जीवनशैलीमा गम्भीर खतरा उत्पन्न गर्ने चेतावनी एक महत्वपूर्ण रिपोर्टले दिएको छ।
सरकारका लागि स्वतन्त्र रूपमा तयार गरिएको यो राष्ट्रिय जलवायु जोखिम मूल्याङ्कन प्रतिवेदन अष्ट्रेलियाको जीवनशैलीमा तापमान वृद्धिले ‘सिलसिलाबद्ध, जटिल र एकैपटक असर पार्ने’ प्रभाव पार्ने उल्लेख गरिएको छ।
“हामी अहिले जलवायु परिवर्तनको प्रभाव अनुभव गरिरहेका छौं। यो अब केवल पूर्वानुमान होइन, वास्तविकता हो,” जलवायु मन्त्री क्रिस बोवेनले बताए।
रिपोर्ट अनुसार, सन् २०५० सम्म १५ लाख अयबकतब िक्षेत्रमा बसोबास गर्ने अष्ट्रेलियालीहरू समुद्री सतह वृद्धिको जोखिममा पर्नेछन्, र यो सङ्ख्या सन् २०९० सम्म दोब्बर भएर ३० लाख पुग्न सक्नेछ।
विशेषगरी उत्तरी अष्ट्रेलियास्थित टोरेस स्ट्रेट टापुहरूमा समुद्री सतह औसत दरभन्दा छिटो बढिरहेको छ।
एडिथ कोवान विश्वविद्यालयकी सामुदायिक समन्वयकर्ता तथा स्वदेशी समुदायकी जोएन हिलले भने,“अब हामीले ढिला गर्न मिल्दैन। यदि तुरुन्त कदम चालिएन भने, टोरेस स्ट्रेटका टापुहरूमा बसोबास गर्ने समुदायले आफ्नो घर, संस्कृति र परम्परा गुमाउनेछन्।”
यो रिपोर्ट सार्वजनिक भएको केही दिनभित्रै अष्ट्रेलियाले पेरिस जलवायु सम्झौताअन्तर्गत नयाँ उत्सर्जन कटौती लक्ष्य सार्वजनिक गर्नेछ भन्ने अपेक्षा गरिएको छ।
डरलाग्दो अवस्था
रिपोर्ट अनुसार, सन् २०५० सम्म अष्ट्रेलियाली सम्पत्तिको मूल्यमा ६११ अर्ब अष्ट्रेलियन डलर बराबरको गिरावट आउन सक्नेछ, जुन सन् २०९० सम्म ७७० अर्ब डलरसम्म पुग्न सक्छ।
यदि तापक्रम ३ डिग्री सेल्सियसले बढ्यो भने, सिड्नी जस्ता शहरहरूमा गर्मीका कारण हुने मृत्युहरू ४०० प्रतिशतभन्दा बढीले वृद्धि हुन सक्छ।
रिपोर्टमा जलवायु परिवर्तनका कारण अष्ट्रेलियाका अनगिन्ती प्रजातिहरू लोप हुन बाध्य हुने उल्लेख गरिएको छ।
जलवायु काउन्सिलकी प्रमुख कार्यकारी अमान्डा म्याकेन्जीले रिपोर्टलाई ‘डरलाग्दो’ भन्दै भने,“हामी अझ तीव्र र कडा रूपमा कार्बन उत्सर्जन घटाएर राम्रो भविष्य निर्माण गर्न सक्छौं। यसको पहिलो कदम भनेको सन् २०३५ सम्मको बलियो जलवायु लक्ष्य निर्धारण गर्नु र नयाँ प्रदूषक परियोजनाहरू रोक्नु हो।”
नीति र व्यवहारबीचको द्वन्द्व
यद्यपि अष्ट्रेलियाले पछिल्ला वर्षहरूमा हरित ऊर्जा र नवीकरणीय स्रोतहरूको विकासमा जोड दिएको छ। हालै सरकारले उत्तर–पश्चिमी क्षेत्रमा रहेको एक प्रमुख एलएनजी परियोजनालाई ४० वर्षको म्याद थपेको छ, जसले वातावरणीय तथा स्वदेशी समुदायहरूमा आक्रोश फैलाएको छ।
उक्त ‘एलएनजी’ परियोजनाबाट प्रत्येक वर्ष १० मिलियन टनभन्दा बढी एलएनजी र पेट्रोलियम उत्पादन हुन्छ।
जलवायु मन्त्री बोवेनले भने,“हरित भविष्यतर्फको यात्रा जटिल छ, तर हामीसँग विश्वकै उत्कृष्ट नवीकरणीय ऊर्जा स्रोतहरू छन्। ग्यास निकट भविष्यमा वैकल्पिक स्रोतको रूपमा आवश्यक हुनेछ।”
