मंगलबार २३ मंसिर, २०८२

पूर्वसभामुख सापकोटाले फिर्ता गरे सरकारी गाडी

पूर्वसभामुख सापकोटाले फिर्ता गरे सरकारी गाडी

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाले सरकारी गाडी फिर्ता गरेका छन् ।

पूर्वसभामुख सापकोटाले प्रयोग गर्दै आएको सरकारी गाडी बुधबार फिर्ता गरेका संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

सरकारले खर्च कटौती र मितव्ययिता कायम गर्न भन्दै पूर्व पदाधिकारीहरूलाई सरकारी सवारी साधन फिर्ता गर्न भनेको थियो ।

सोही अनुसार पूर्वसभामुख सापकोटाले बुधबार संघीय संसदलाई गाडी बुझाएका सचिवालयका प्रवक्ता गिरीले जानकारी दिए ।

यसअघि पूर्वसभामुखद्वय ओनसरी घर्ती र कृष्णबहादुर महरा पनि गाडी फिर्ता गरेका थिए । यस्तै राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमल्सिनाले पनि गाडी फिर्ता गरिसकेका छन् ।

सचिवालयका अनुसार अब पूर्वसभामुख तारानाथ रानाभाटले मात्र सरकारी गाडी फिर्ता गर्न बाँकी छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूले सरकारी गाडी प्रयोग गर्दै आएका थिए ।

पदबाट हटिसक्दा पनि सरकारी गाडी प्रयोग गरेको भन्दै पूर्व पदाधिकारीहरूको जनस्तरमा आलोचना हुने गरेको छ ।