सोमबार २२ मंसिर, २०८२

पोखराको लिचीबारी जग्गा प्रकरण : दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

पोखराको लिचीबारी जग्गा प्रकरण : दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायतकाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुद्दा दर्ताका लागि विशेष अदालत पुगेको थियो । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो माग दाबी गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

त्यस्तै, यस प्रकरणमा मुछिएकाहरू अन्य रामचन्द्र अधिकारी, याम कुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुनविरुद्ध पनि मुद्दा दायर भएको छ । अधिकारीविरुद्ध ५३ लाख, गुरुङविरुद्ध २५ लाख, बुढामगरविरुद्ध ७८ लाख र पुनविरुद्ध २५ लाख बिगो मागदाबी गरिएको छ ।

गत असारमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले घुस डिल गरेको अडिओ सार्वजनिक भएको थियो।

त्यतिबेला भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न मन्त्री गुप्ताले ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ अडिओ सार्वजनिक भएको थियो।