सोमबार २२ मंसिर, २०८२

गाजामा इजरायलले गरेको विनाश १३ आणविक बम बराबर, भग्नावशेष हटाउन १५ वर्ष लाग्ने

गाजामा इजरायलले गरेको विनाश १३ आणविक बम बराबर, भग्नावशेष हटाउन १५ वर्ष लाग्ने

रफाह । यतिबेला गाजापट्टी कुनै भूगोल नभएर बारूदले क्षतविक्षत मानव पीडाको प्रतीक बनेको छ । इजरायलले विगत दुई वर्षमा यहाँ झन्डै २ लाख टन बराबरको विस्फोटक पदार्थ खसालेको छ । यो भनेको १३ वटा आणविक बमको संयुक्त शक्ति बराबरको बारुद हो । यी आक्रमणका क्रममा १ लाख भन्दा धेरैको ज्यान गयो ।

संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)ले गएको अक्टोबरमा प्रकाशित गरेको ‘गाजाको पुनर्निर्माण सूचकांक’को शीर्षकको प्रतिवेदनअनुसार गएको दुई वर्षमा गाजामा १ लाख ५ हजार ८०० भन्दा बढी भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । यहाँका प्रत्येक १० मध्ये ८ ओटा भवनहरू भग्नावशेष भएका छन् । 

गाजा बस्न योग्य नै छैन । ९० प्रतिशत बासिन्दाको घर या त भत्किएका छन वा बस्न योग्य नै छैनन् । ९५ प्रतिशतभन्दा बढी बहुतले भवनहरू ध्वस्त भएका छन् । यूएनडीपी र विश्व बैंकको संयुक्त सर्वेक्षणले गाजामा अहिले ६ करोड टनभन्दा बढी भग्नावशेष रहेको बताएको छ । यो भनेको सरियाली युद्धको समयमा अलेप्पोमा भएको कुल विनाशको तीन गुणा हो ।

भग्नावशेष हटाउने २४ अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ । यो भनेको प्यालेस्टिनी वार्षिक जीडीपीको चार गुणा हो । हालको स्रोतहरूको आधारमा  कुनै पनि नयाँ निर्माण सुरु हुनु अघि भग्नावशेष हटाउन मात्र १२ देखि १५ वर्ष लाग्ने इन्जिनियरिङ काउन्सिलले अनुमान गरेको छ । यी सबै तथ्यले गाजाको पुनर्निर्माण कत्तिको चुनौतीपूर्ण छ भन्ने देखाउँछ ।

झन्डै १ लाख ५२ हजार मानिस मारिए

विनाशको सबैभन्दा भयानक पक्ष मानवीय जीवनको क्षति हो । संयुक्त राष्ट्र मानवीय राहत एजेन्सी, डब्ल्यूएचओ, र यूएनआरडब्ल्यूएले २०२५ को अक्टोबरमा निकालेका रिपोर्टहरूका अनुसार गाजामा झन्डै १ लाख ५२ हजार मानिस मारिएका छन् । यी मध्ये एक् लाख ८ हजार मानिसको मृत्यु पुष्टि भएको छ । बाँकी पुरिएको वा बेपत्ता छन् । 

घाइतेहरूको संख्या ३ लाख ७२ हजारभन्दा भन्दा बढी छ, जसमध्ये ६० प्रतिशतभन्दा बढी महिला र बालबालिका छन् । मृत्यु हुनेमा ४२३ स्वास्थ्यकर्मी, १७९ पत्रकार र २४७ संयुक्त राष्ट्र संघका राहतकर्मी छन् । कर्तव्य पालना गर्ने क्रममा यिनीहरू आक्रमणको सिकार भएका थिए ।

बन्धक रिहाइपछि इजरायलमा उत्सव

गाजामा युद्धविरामको एक भागको रूपमा हमासले २० इजरायली बन्धकहरूलाई रेडक्रसलाई सुम्पिएपछि इजरायलीहरूले उत्सव गरे । गाजा र इजरायल दुवैतिरका मानिसहरूले पश्चिम एसिया सहित सम्पूर्ण विश्वलाई अस्थिर बनाउने विनाशकारी दुई वर्षे युद्धको अन्त्य भएको खुशीयाली मनाए ।

तर युद्धविराम र बन्धक रिहाइको लागि शान्ति योजना पहिलो चरण मात्र हो । अर्को चरणहरूबारे प्रतिस्पर्धी मागहरू कायमै छन्, जसले युद्धको वास्तविक अन्त्यबारे अनिश्चितता सिर्जना गरेको छ । १ हजार ९०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको बदलामा २० जीवित बन्धकहरूलाई रिहा गरिएको इजरायली बन्धकहरूलाई रिहा गर्दा हमासले भनेको थियो । इजरायल अझै पनि वेस्ट बैंकमा कोलोनी बनाउन चाहन्छ । हमासले फेरि त्यसो गर्नबाट रोक्नेछ । यस्तो अवस्थामा प्यालेस्टिनी कैदीहरूको रिहाइमा धेरै कुरा निर्भर हुनेछ ।