सोमबार २२ मंसिर, २०८२

गाजा क्षेत्रमा ७० अर्ब अमेरिकी डलर बराबरको क्षति, पुनर्निर्माणमा २० अर्ब डलर चाहिने अनुमान

गाजा क्षेत्रमा ७० अर्ब अमेरिकी डलर बराबरको क्षति, पुनर्निर्माणमा २० अर्ब डलर चाहिने अनुमान

काठमाडौं । इजरायल–हमास युद्धका कारण प्रभावित गाजा क्षेत्रमा ७० अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको अनुमान गरिएको छ । त्यसको पुनर्निर्माणमा २० अर्ब डलर आवश्यक पर्ने अनुमान समेत गरिएको छ ।

संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र विश्व बैंकले संयुक्त रूपमा गरेको मूल्यांकनबाट सो अनुमान गरिएको हो ।

संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम (युएनडीपी) का प्यालेस्टाइन विशेष प्रतिनिधि याको सिलियर्सले मंगलबार पत्रकारहरुसँग भने, ‘गाजाको करिब ८४ प्रतिशत क्षेत्र क्षतिग्रस्त भएको छ र गाजा शहरजस्ता ठाउँमा ९२ प्रतिशतसम्म क्षति देखिन्छ । पुनर्निर्माणको विशाल अभियानका लागि आगामी तीन वर्षमा २० अर्ब डलर आवश्यक पर्नेछ ।’

उनका अनुसार, गाजाको पुनर्निर्माणका लागि अरब मुलुकहरूसँगै युरोपेली देश र अमेरिकाबाट पनि सम्भावित आर्थिक सहयोगका संकेत प्राप्त भएका छन् ।

२१ लाख मानिसहरूलाई मानवीय सहायता

युएनडीपीले आफ्ना साझेदार संस्थाहरूसँग मिलेर २१ लाख मानिसहरूलाई मानवीय सहायता पुर्‍याउने प्रयास गरिरहेको जनाएको छ । यसअन्तर्गत, स्वच्छ पानी, आपतकालीन रोजगारी, औषधि आपूर्ति, फोहर व्यवस्थापन, आवास र सार्वजनिक स्थलहरूको सुरक्षा छन् । साथै भग्नावशेषमा पुरिएका विस्फोटक पदार्थ हटाउने कार्य पनि भइरहेको छ ।

सिलियर्सका अनुसार, हालसम्म ८१ हजार टन भग्नावशेष हटाइएको छ, जुन करिब ३ हजार १०० ट्रकभरी बराबर हो । यसले मानवीय सहायताकर्मीहरूलाई स्थानीय बासिन्दासम्म राहत र सहयोग पुर्‍याउन सजिलो बनाएको छ । साथै, अस्पताल र सामाजिक सेवाहरूका लागि पनि भग्नावशेष हटाउने काम भइरहेको छ ।

युद्धविराम सम्झौता

गत सोमबार इजिप्टको शर्म अल–शेख शहरमा इजरायल र हमासबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको थियो ।

सोही दिन २० जना इजरायली बन्धकहरूलाई हमासले मुक्त गरेको थियो । त्यसको बदलामा इजरायली जेलमा रहेका प्यालेस्टिनीहरु पनि रिहा गरिएका छन् ।

युद्धविराम सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, कतार, इजिप्ट र टर्कीका नेताहरूले महत्वपूर्ण भूमिका खेलेका थिए । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले युद्धविराम र बन्धक रिहाइको स्वागत गर्दै गरेका छन् ।

सहायता विस्तारको आवश्यकता

युद्धविराम पछि गाजामा विस्तृत मानवीय सहायता अभियान सञ्चालनका प्रयासहरू भइरहेका छन् । शुक्रबारदेखि मात्रै तीन लाखभन्दा बढी प्यालेस्टिनीहरू गाजा सहरतर्फ फर्किएका छन् ।

इजरायल प्रशासनले हालसम्म १ लाख ९० हजार टन राहत सामग्री गाजा क्षेत्र प्रवेशमा अनुमति समेत दिएको छ । संयुक्त राष्ट्र संघका निकायहरूले आफ्ना साझेदारहरूसँग मिलेर ती सामग्रीहरू वितरण गरिरहेका छन् तर अझ धेरै मात्रामा राहत सामग्रीको आपूर्ति आवश्यक रहेको बताइएको छ ।

संयुक्त राष्ट्र संघ बाल कोष (युनिसेफ) का प्रवक्ता रिकार्डो पिरेसले युद्ध प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पर्याप्त मात्रामा आपूर्ति हुन नसकेको बताएका छन् । उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय समुदाय र सर्वसाधारणबीच यो आशा थियो कि अब पीडाको अन्त्य सुरु हुँदैछ र परिस्थितिमा सुधार आउने छ तर अहिलेसम्म त्यो व्यवहारमा देखिएको छैन ।’