आइतबार २१ मंसिर, २०८२

टी-२० बाट ओडीआईमा स्वीच : अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

टी-२० बाट ओडीआईमा स्वीच : अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज आइतबार अमेरिकासँग भिड्दै छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

नेपाल, अमेरिका र यूएई सम्मिलित सिरिज आजदेखि यूएईमा सुरु हुँदै छ । नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु भएको आजको पहिलो खेलमा नेपालले टी–२० विश्वकप छनोटको उत्साहसहित ५० ओभर क्रिकेटमा पुनरागमन गर्दै छ ।

मुख्य प्रशिक्षक स्टुअर्ट लको आगमनपछि स्कटल्यान्डमा भएको पछिल्लो लिग–२ सिरिजमा चारमध्ये तीन खेल जितेको नेपालले करिब चार महिनापछि पुनः एकदिवसीय खेल खेल्न लागेको हो । यसबीच नेपालले ओमानमा सम्पन्न टी–२० विश्वकप एसिया–ईएपी छनोट जित्दै २०२६ को विश्वकपमा स्थान बनाएको थियो ।

त्यसअघि नेपालले सारजहामा टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी–२० सिरिज जितेर इतिहास रचिसकेको थियो ।

नेपाली टोली 

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, भीम सार्की, आरिफ शेख, रोहित पौडेल (कप्तान), गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी ।