आइतबार २१ मंसिर, २०८२

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका–४ कटुधारमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्युपछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् ।

बुधबार अपरान्हतिर मोटरसाइकको ठक्करबाट साइकलमा जाँदै गरेकी स्थानीय गोविन्द यादवका १० वर्षीया छोरी शिवानी यादवको मृत्यु भएको छ ।

स्थानीय सन्ध्या यादवसँगै साइकलमा जाँदै गरेकी बालिकालाई मोटरसाइकलले ठक्कर दिँदा शिवानी गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा राति नै महोत्तरीको जानकी एकेडमिक हस्पिटलमा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।

उनका अनुसार कालो ज्याकेट लगाएको मान्छेले चलाएको मोटरसाइकलले ठक्कर दिएर भागेका हुन् । ठक्कर दिने मोटरसाइकल र चालकको खोजतालास भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालकको खोजी गरी कारबाहीको माग गर्दै स्थानीयले आज कटुधारमा आज बिहान ११ बजेदेखि हाुलाकी राजामार्ग अवरुद्ध गरेका छन् ।

इलाका प्रहरी कार्यालय गौशालामा मृतक परिवार र प्रहरीबीच भएको वार्तामा दुई दिनभित्र दोषी पत्ता लगाएर कारबाही प्रक्रिया अघि बढाउने शर्तमा सडक अवरुद्ध खोल्न तयार रहेको स्थानीयले बताएका छन् ।