आइतबार २१ मंसिर, २०८२

एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै

एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले आगामी संस्करणका लागि तीन जना उत्कृष्ट युवा खेलाडी छनोट गर्न प्रतिभा छनोट कार्यक्रम आयोजना गर्ने भएको छ ।

जिल्ला क्रिकेट संघ बाँके, नेपालगन्जको आयोजनामा हुने उक्त कार्यक्रम कार्तिक १३ गते बिहीबार बाँकेस्थित कोहलपुर क्रिकेट रङ्गशालामा सञ्चालन हुने छ । कार्यक्रम बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चल्ने बताइएको छ ।

कार्यक्रमबाट तीन जना उत्कृष्ट युवा खेलाडीहरू छनोट गरिनेछन् । तीमध्ये एक जना खेलाडीलाई मुख्य टोली मा स्थान दिइनेछ भने दुई जना खेलाडीहरूलाई विकास टोली मा राखिने लुम्बिनी लायन्सले जनाएको छ । छनोट भएका खेलाडीहरू आगामी मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा सहभागी हुने अवसर पाउने छन् ।

लुम्बिनी लायन्सले यसअघि नै एनपीएलको दोस्रो संस्करणका लागि ६ जना प्रमुख खेलाडीहरूलाई रिटेन गरिसकेको छ ।

यस ट्यालेन्ट हन्ट कार्यक्रमले नेपाली क्रिकेटमा नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्ने र देशको क्रिकेटको स्तरलाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा लुम्बिनी लायन्सकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे, क्रिकेट संघ नेपाल (क्यान) का पदाधिकारीहरू तथा अन्य सम्मानित व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।