आइतबार २१ मंसिर, २०८२

एक शताब्दी बन्द रहेको चीनको ‘छियान्लोङ बगैंचा’ खुला

एक शताब्दी बन्द रहेको चीनको ‘छियान्लोङ बगैंचा’ खुला

चीनमा एक शताब्दीदेखि बन्द रहेको एउटा बगैंचा सर्वसाधारणका लागि खुला गरिएको छ । चीनको राजधानी बेइजिङमा रहेको दरबार सङ्ग्रहालय ‘छियान्लोङ बगैंचा’ सर्वसाधारणका लागि खुला गरेको हो ।

सङ्ग्रहायले आफ्नो १००औं वार्षिकोत्सव मनाउने क्रममा यसलाई खुल्ला गरिएको सीएनएनले लेखेको छ । त्यस्तै यो बगैंचालाई सम्पूर्ण शाही परिसरको ‘सबैभन्दा उत्कृष्ट र सुन्दर रूपमा सजाइएको बगैंचा’को रूपमा वर्णन गरेको छ ।

बताइए अनुसार छियान्लोङ बगैंचा सन् १७७० को दशकमा छिङ वंशका सम्राट छियान्लोङले आफ्नो व्यक्तिगत विश्राम र एकान्तवासका लागि बनाएका थिए । कारणबस बन्द हुन गएपछि यो बगैंचा लामो समयदेखि बन्द थियो । पछि यसलाई विश्व स्मारक कोषसँगको साझेदारीमा पुनर्स्थापना गर्न थालिएको थियो । जुन काम गर्न २५ वर्ष लागेको बताइएको छ ।

करिब ६० हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो बगैंचा विशाल शाही दरबारको तुलनामा सानो छ । सम्राट छियान्लोङले दक्षिणी चीनका निजी बगैंचाहरूको डिजाइन शैली अपनाउँदै यसमा जोडिएका चार ओटा चोकहरू बनाएका थिए । तीमध्ये हाल दुईवटा चोक सर्वसाधारणका लागि खुला गरिएका हुन् ।

हालै मात्र सङ्ग्रहालयको वार्षिकोत्सवमा चीनियाँ राष्ट्रपति सी जिनपिङले यो बगैंचा रहेको सङ्ग्रहालयलाई ‘चीनियाँ सभ्यताको एक महत्वपूर्ण प्रतीक’ बताएको बताएका थिए ।