एलन मस्क : आधा ट्रिलियन डलरका मालिक, तर ५० हजार डलरको घरमा बस्ने अर्बपति
एजेन्सी । टेस्ला र स्पेसएक्सका मालिक एलन मस्क लामो समयदेखि विश्वका सबैभन्दा धनी व्यक्तिहरूको सूचीको शीर्षमा छन्। हालै सार्वजनिक भएको तथ्यांकले देखाउँछ—उनको सम्पत्ति अब आधा ट्रिलियन डलर (५०० अर्ब अमेरिकी डलर) नाघेको छ, जसले उनलाई मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनाएको छ।
तर, अचम्मको कुरा के छ भने—यति विशाल सम्पत्तिका बाबजुद मस्क अत्यन्तै साधारण जीवनशैली अपनाउँछन्। सन् २०२१ मा उनले आफू टेक्ससस्थित करिब ५० हजार डलरको सानो प्रीफ्याब्रिकेटेड घरमा बस्ने गरेको बताएका थिए।
साधारण जीवन र ग्राइम्सको खुलासा
उनकी पूर्वश्रीमती र गायिका ग्राइम्सले सन् २०२२ मा भ्यानिटी फेयरसँगको अन्तर्वार्तामा मस्क अर्बपतिजस्तो होइन, बरु कहिलेकाहीँ गरिबी रेखामुनि बस्ने जस्तो जीवन बाँच्ने बताएकी थिइन्। उनले खुलासा गरेकी थिइन्—“एकपटक उनको बिछ्यौनाको भाग च्यातिँदा पनि नयाँ किन्न उनले इन्कार गरेका थिए।”
तर, साधारण जीवन बिताउने मस्कलाई अनौठा र दुर्लभ कारहरूको भने निकै रुचि छ।
अनौठा कार र विमानको संग्रह
मस्कसँग यस्ता कार छन् जुन इतिहासकै अद्वितीय मानिन्छन्—
फोर्ड मोडेल–टी, २०औं शताब्दीको पहिलो जन–कार।
१९६७ ज्यागुअर ई–टाइप रोडस्टर, उनको बाल्यकालको मनपर्ने कार।
१९९७ म्याक्लारेन एफ–१, जुन उनले दुर्घटनापछि बेचिदिए।
टेस्ला रोडस्टर, जसलाई उनले २०१८ मा अन्तरिक्षमा पठाए।
१९७६ लोटस एस्प्रिट ‘वेट नेल’, जेम्स बन्ड फिल्म The Spy Who Loved Me मा प्रयोग भएको पनडुब्बीमा बदलिने कार, जसलाई मस्कले १० लाख डलरमा खरिद गरेका थिए।
त्यस्तै, उनले गल्फस्ट्रीम मोडलका करोडौं डलरका निजी जेटहरू पनि प्रयोग गर्छन्। उनी प्रायः स्पेसएक्स र टेस्लाका साइटहरूबीच यिनै विमानमार्फत आवतजावत गर्छन्। मस्कका अनुसार, “यदि मैले विमान प्रयोग नगरेँ भने, मेरो काम गर्ने समय नै घट्छ।”
विलासी घरहरू बेचेर ‘घरबारविहीन’
एक समय मस्कसँग क्यालिफोर्नियाको बेल–एयर क्षेत्रमा सात वटा आलिशान बंगलाहरू थिए, जसमा स्विमिङ पुल, टेनिस कोर्ट, निजी पुस्तकालय, र बलरूमजस्ता विलासी सुविधा थिए।
तर, सन् २०२० मा उनले ट्वीट गर्दै घोषणा गरे—“म आफ्ना सबै सम्पत्ति बेच्दैछु। अब मलाई घरको आवश्यक छैन। सम्पत्ति त केवल बोझ हो।” त्यसपछि उनले अधिकांश घरहरू बिक्री गरे।
अभिनेता जीन वाइल्डरको पुरानो घर उनले बिक्री गर्दा पनि तोडफोड नगर्न आग्रह गरेका थिए। पछि उक्त घर खरिदकर्ताले ऋण नतिरेकाले मस्कले २०२५ मा पुनः आफ्नो नाममा फिर्ता ल्याए।
हाल उनी टेक्ससको स्टारबेस क्षेत्रमा बस्छन्, जहाँ स्पेसएक्सको मुख्य कार्यस्थल पनि छ। उनी प्रायः आफ्ना साथीहरूको घरमा बसेर काम गर्ने गरेको बताउँछन्। गुगलका पूर्व–सीईओ ल्यारी पेजले पनि मस्कलाई “केही हदसम्म घरबारविहीन” व्यक्ति भनेका थिए।
परोपकार र आलोचना
अर्बौं डलरका शेयर र करोडौं डलर दान गरेर मस्कले परोपकारमा पनि सहभागिता जनाएका छन्। तर न्युयोर्क टाइम्सले उनी दानमा पनि कर छुट र व्यापारिक फाइदा हेरेर मात्रै निर्णय लिने गरेको आरोप लगाएको छ।
मस्कको मस्क फाउन्डेशनले भने वैज्ञानिक अनुसन्धान, प्रविधि विकास र मानव कल्याणका लागि सहयोग गर्ने बताउँछ।
मस्कका अनुसार, उनको व्यवसाय नै परोपकार हो। उनी भन्छन्— “यदि परोपकारको अर्थ मानवताप्रतिको प्रेम हो भने, टेस्ला, स्पेसएक्स, र न्यूरालिंकजस्ता मेरा सबै प्रोजेक्टहरू परोपकार हुन्।”
