मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो
जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्त विवादलाई लिएर मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड भएको छ । आज बिहानै कांग्रेस सहितका सांसदहरू कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन् ।
एक सांसदले नेपालको राष्ट्रिय झन्डा निकालेर फालेका छन् भने अर्काले कुर्सी फालेका हुन् । झन्डा फाल्ने कांग्रेसका प्रदेश सांसद वीरेन्द्र कुमार सिंह हुन् । तोडफोडबाट कार्यकक्षमा सामान्य क्षति पुगेको छ ।
मधेशको प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड भएको छ। प्रदेश प्रमुख सुमेत्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । उनीहरुले प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड सहितका गमलाहरूमा क्षति पुर्याएका छन् ।
