सोमबार २२ मंसिर, २०८२

त्रिपुरासुन्दरी सडक ठेक्कामा भ्रष्टाचार, ठेकेदारसहित ८ जनाविरुद्ध मुद्दा दायर

त्रिपुरासुन्दरी सडक ठेक्कामा भ्रष्टाचार, ठेकेदारसहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा मोटरबाटो स्तरोन्नतिको ठेक्कामा अनियमितता गरेको अभियोगमा ठेकेदार कम्पनीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङदेखि ल्हाँसम्मको मोटरबाटोको ठेक्का मिलोमतोमा दिएको र भुक्तानीमा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

आयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिरा चन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा र वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा विरुद्ध मुद्दा दायर गरेको छ।

साथै एमआईएस अपरेटर हरिचन्द्र बिष्ट, मूल्याङ्कन समितिका सदस्य (एनसीसीएसपी परियोजना इन्जिनियर) शिशिरकुमार गुरुङ र दिव्या निर्माण सेवाका सञ्चालक भीमराज न्यौपाने विरुद्ध पनि विशेष अदालतमा आरोपपत्र पेश गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा बोलपत्र प्रक्रिया मिलेमतोमा गरेर बढी रकम कबोल गर्ने निर्माण कम्पनीलाई ठेक्का दिई गैरकानूनी लाभ लिएको पाइएको आयोगले जनाएको छ। ८३ लाख ८२ हजार ९९८ रुपैयाँ ८२ पैसा लागत अनुमान गरिएको उक्त सडक निर्माणको ठेक्का प्रक्रियामा दिव्या निर्माण सेवा प्रालिलाई अनुचित रूपमा ठेक्का दिइएको ठहर गरिएको छ।

बोलपत्र मूल्याङ्कन समितिले नागरिकता प्रमाणपत्र अनिवार्य नभएको शर्तलाई कारण देखाएर अन्य बोलपत्रदातालाई अस्वीकृत गरी बढी रकम कबोल गर्ने दिव्या निर्माण सेवालाई ठेक्का दिएको देखिएको छ। त्यस्तै, दिव्या निर्माण सेवा र कृष्ण निर्माण सेवाको कागजातमा समान हस्ताक्षर, ढाँचा र मिति भएका कारण दुवै कम्पनीबीच मिलेमतो भएको पाइएको थियो।

न्यूनतम कबोल रकम २४ लाख ७३ हजार ६१५ रुपैयाँ ६१ पैसा र स्वीकृत बोलपत्र रकम ८० लाख ६२ हजार ६७८ रुपैयाँ ६७ पैसा बीचको फरक ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा कायम गरी आयोगले विशेष अदालतमा आरोपपत्र पेश गरेको छ।

उनीहरूविरुद्ध ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको माग गरिएको छ।